रिक्त रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त भएका छन्। प्रधानमन्त्री एवं कुलपति प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार प्रतिष्ठानहरूमा उपकुलपति नियुक्त गरेका हुन्। ती सबै प्रतिष्ठानहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका हुन्।
सरकारले अध्यादेश ल्याएसँगै प्रतिष्ठान र विश्वविद्यालयहरू उपकुलपतिविहीन बनेका थिए। ती प्रतिष्ठान र विश्व विद्यालयमा उपकुलपति छनोटका लागि सरकारले एकै चरणमा काम थालेको थियो। विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेपछि प्रतिष्ठानमा पनि नियुक्त गरिएको हो।
सिफारिस भएका तीनजनामध्येबाट कुलपतिले एकजनालाई उपकुलपति बनाएका हुन्। जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नवीसमानसिंह प्रधान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र नियुक्त भएका हुन्।
प्रतिष्ठानहरूमा उपकुलपति छनोटका लागि सरकारले ‘छनोट तथा सिफारिस समिति’ बनाएको थियो। समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गरेका हुन्। सरकारले पारदर्शी रूपमा उपकुलपति नियुक्तिका लागि ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ तयार पारेको थियो। सोहीअनुसार समितिले काम गरेर नाम सिफारिस गरेको थियो।
उपकुलपतिका लागि ११३ जनाको आवेदन परेको थियो। विभिन्न चरणमा छनोट गर्दै समितिले तीन–तीनजनाको नाम प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो।