डम्पिङसाइटको विवादले त्रियुगा नगरपालिकाको गाईघाट बजार क्षेत्र तीन दिनदेखि फोहोरको थुप्रोमा परिणत भएको छ । नियमित रूपमा संकलन हुँदै आएको फोहोर उठ्न नसक्दा बजारका सडक, गल्ली र चोक–चोकमा दुर्गन्ध फैलिएको हो ।
सडक किनारमा थुप्रिएको फोहोरका कारण सर्वसाधारण, व्यापारी र यात्रुहरूलाई दैनिक आवतजावत गर्नसमेत सास्ती हुन थालेको छ । त्रियुगा नगरपालिका– १०, ११, १२ र १३ का मुख्य बजार क्षेत्रमा होटेल, किराना, फलफूल पसल, तरकारी बजार तथा घरधुरीबाट निस्कने फोहोर तीन दिनदेखि उठ्न नसकेपछि व्यापारीहरूले पसलअगाडि नै थुपार्न थालेका छन् । वर्षायाम र गर्मीका कारण फोहोर कुहिन थालेपछि बजार दुर्गन्धित बनेको छ भने स्वास्थ्य जोखिम बढ्ने चिन्ता पनि उस्तै छ ।
मदन भण्डारी लोकमार्ग हुँदै काठमाडौंको यात्रामा रहेका यात्रु सुरेन्द्र चालिसे बिपी चोकमा फलफूल पसलमा फलफूल किन्न पुग्दा उनले भने, ‘फलफूल किन्न पसलमा छिरेँ, फोहोरको गन्धले बस्नै नसकिने अवस्था रहेछ । बजारको बिचमै यसरी फोहोर थुप्रिँदा पनि व्यापारीहरू नगरपालिकालाई दोष दिएर बसेको राम्रो लागेन ।’
यता प्रगति टोलकी लीला राईले तीन दिनदेखि नगरपालिकाको फोहोर बोक्ने सवारी नआएको गुनासो गरिन् । ‘घरअगाडि फोहोर थुप्रिएको छ । दुर्गन्धका कारण बस्न गाह्रो छ । कहिले फोहोर उठ्छ भन्ने पनि थाहा छैन,’ उनले भनिन् ।
त्रियुगा नगरपालिकामा डम्पिङसाइटको विवाद भने नयाँ होइन । एक वर्षअघि पनि यस्तै विवादका कारण फोहोर व्यवस्थापन अवरुद्ध भएको थियो । स्थायी डम्पिङसाइटको अभावमा नगरपालिका अस्थायी व्यवस्थापनमा निर्भर रहँदै आएको छ ।
नगरप्रमुख वसन्तकुमार बस्नेतका अनुसार हाल नगरपालिका– १२ स्थित बोटेटोल र त्रिवेणीटोलको बिचमा पर्ने त्रियुगा नदीकिनारको निजी जग्गामा खाल्डो खनेर फोहोर व्यवस्थापन गरिँदै आएको थियो । तर, त्यही स्थानमा समेत विवाद भएपछि फोहोर उठाउन नसकिएको उनले बताए । ‘सार्वजनिक जग्गामा डम्पिङसाइट बनाउन खोज्दा विवाद भएपछि निजी जग्गामा व्यवस्थापन गरिरहेका थियौँ । अहिले त्यहाँ पनि केही व्यक्तिले विरोध गरेपछि समस्या उत्पन्न भएको हो । अब म आफैँ त्यहाँ पुगेर समस्या समाधान गर्ने प्रयासमा छु,’ मेयर बस्नेतले भने ।
फोहोर व्यवस्थापन प्रभावित भएपछि नगरपालिकाले विशेष सूचना जारी गर्दै दिगो समाधान नहुँदासम्म घर, होटेल, पसल, उद्योग तथा अन्य प्रतिष्ठानबाट निस्कने फोहोर सकेसम्म उत्पत्तिस्थानमै व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेको छ । जैविक फोहोरलाई मलका रूपमा प्रयोग गर्ने, पुनः प्रयोग गर्न मिल्ने सामग्री छुट्याउने तथा आवश्यक परे माटोमुनि पुरेर व्यवस्थापन गर्न पनि अनुरोध गरिएको छ ।
त्रियुगा नगरपालिकाले यसअघि साताको हरेक दिन तालिकाअनुसार गाईघाट बजार तथा आसपासका बस्तीबाट नियमित फोहोर संकलन गर्दै आएको थियो । तर, डम्पिङसाइटको विवादले त्यो सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।