पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको गोलबजार नगपालिका– ९, चोहर्वामा स्कुलबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको घटनास्थल र गम्भीर घाइते अर्काजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका– २२, हकपाडा गाउँका घनश्याम यादवका छोरा करिब १५ वर्षीय नरेशकुमार यादवको दुर्घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका धनुषा सहिदनगर नगरपालिका– १ बस्ने अधिक कबाडीका छोरा करिब १५ वर्षीय इम्तियाज राइन कबाडीको उपचारको क्रममा विरानगरस्थित नोबेल अस्पतालमा बुधबार राति करिब साढे नाै बजेतिर मृत्यु भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार टाउको, दुवै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मिर्चैया नगरपालिका– ५ का शेख सोयवका छोरा करिब २४ वर्षीय शेख रिहानको गोलबजारस्थित लाइफलङ अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल र त्यहाँबाट न्युरो अस्पताल पुर्याएर उपचार भइरहेको छ । उनको अवस्थासमेत चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्थानीय शिवशक्ति बाल एकेडेमी बोर्डिङ स्कुलको मे.१ख २३६३ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको तीनजना सवार म.प्र.०१–००५ प ३४०६ नम्बरको मोटरसाइकल बुधबार अपराह्न करिब साढे ४ बजेतिर ठोक्किँदा नरेशको घटनास्थलमै मृत्यु भएको थियो ।
सामान्य गतिमा गइरहेको बस कुनै पनि ट्राफिक संकेत नदेखाई अकस्मात् गोविन्दपुर गाउँ जाने सडकतिर मोडिँदा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक नरहा गाउँपालिका– ३ घर भएका ३१ वर्षीय त्रिलोकीनाथ यादवसहित बस र मोटरसाइकल मिर्चैैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।