गण्डकी हार्ट मिट २०२६ : मुटु उपचार सेवाको थप विकास र विस्तार आवश्यक

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

हेल्दी हार्ट नेपाल र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले पोखरामा गण्डकी हार्ट मिट २०२६ सम्पन्न गरेको छ।कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, प्रतिनिधिसभाका सदस्य, प्रदेश सभाका सदस्य, पोखराका मेयर, विभिन्न दलका नेताहरू, नीतिनिर्माता, चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता, विकास साझेदार तथा समुदायका प्रतिनिधिहरूलगायतको सहभागिता रहेको थियो। 

कार्यक्रमका सहभागीहरूबिच अनुभव आदान–प्रदान, चुनौतीहरूको समीक्षा,  प्रदेशमा मुटु इन्टरभेन्सन सेवाको वर्तमान अवस्था र भावी दिशा, समग्र मुटु शल्यचिकित्सा कार्यक्रम, प्रदेशभरि हृदय स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी र सुदृढ बनाउनेलगायतका विविध विषयमा विज्ञहरूको प्रस्तुतिसँगै छलफल भएको थियो।

‘गण्डकीमा मुटुरोगमाथि विजय : सबैका लागि एउटै साझा दृष्टिकोण’ भन्ने नारासहित मनमोहन कार्डियो भास्कुलर एन्ड थोरासिक सेन्टर (त्रिवि शिक्षण अस्पताल, काठमाडौं)का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको पहल र अगुवाइमा कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको डा. देवकोटाको भनाइ छ। हृदय तथा रक्तनलीसम्बन्धी (कार्डियोभास्कुलर) रोगहरू नेपालमा बिरामीपन, अशक्तता तथा अकाल मृत्युका प्रमुख कारणहरूमध्ये एक रहेको उनले बताए। यसबाट बच्नका लागि नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै निदान र सहज उपचार सेवा आवश्यक रहेको उनले बताए। 

गण्डकी प्रदेशको हृदय स्वास्थ्यको वर्तमान अवस्था तथा कार्डियाक (हृदय) उपचार सेवाको समीक्षा, हृदयसम्बन्धी संस्थाहरूका अनुभव, नवप्रवर्तन तथा सिकाइ आदानप्रदान, रोकथाम, निदान, रेफरल, उपचार तथा पुनर्स्थापन सेवाहरूलाई सुदृढ बनाउने, सरकारी निकाय, शैक्षिक संस्था तथा साझेदार संस्थाहरूबिच सहकार्य प्रवर्द्धन गर्ने, प्रदेशभर गुणस्तरीय हृदय उपचार सेवामा सबैको समान पहुँच विस्तार गर्ने, प्रदेशको हृदय स्वास्थ्यका लागि साझा दृष्टिकोण विकास गर्ने, भविष्यका लागि नेतृत्वलाई एकताबद्ध गर्ने साथै स्वस्थ मुटु–समृद्ध गण्डकी निर्माण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

यसअघि कार्यक्रमको उद्घाटन गदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बढ्दो समस्या समाधानका लागि विशिष्टीकृत मुटुरोग उपचार केन्द्र स्थापनाका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका थिए। कार्यक्रमले प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने काममा सहयोग गर्ने भनाइ मुख्यमन्त्रीको रहेको थियो।

सुझावित समाचार