माङसेबुङ– २ का किसान हरि राईले बेसारखेती सुरु गरेको चार वर्ष भयो । उनले बेसारखेती सुरु गर्दा माङसेबुङ क्षेत्रमा व्यावसायिक बेसारखेती नै भएको थिएन । उनीसहित माङसेबुङ– २ रत्नबस्तीका २० घर परिवारले सामूहिक बेसारखेती सुरु गरेका थिए ।
माङसेबुङ गाउँपालिकाले पनि त्यो क्षेत्रमा बेसार पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेर किसानलाई सहयोग गर्यो । गाउँपालिकाले पहिलो वर्ष ६ लाख र दोस्रो वर्ष तीन लाख तथा मेसिनरी सामग्री सहयोग गरेको थियो । पकेट क्षेत्र कार्यक्रमअन्तर्गत रत्नबस्तीका स्थानीयले १४० रोपनी क्षेत्रमा बेसारखेती गरेको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।
स्थानीयले सन्राइज कृषि तथा पशुपालन समूह नै बनाएर बेसारखेतीको सुरुवात गरेका थिए । खेती सुरु भएको तेस्रो वर्षसम्म बेसार प्रशोधन गरेर आफैँ बेच्न थालेका थिए । तर, पछिल्ला वर्ष गाउँपालिकाका अन्य क्षेत्रमा पनि व्यापक बेसारखेती वृद्धि भएपछि प्रशोधन केन्द्र बन्द भएको छ । ‘अरूतिर ठुला मेसिन ल्याएर प्रशोधन गर्न थालेपछि हामीले प्रतिस्पर्धा गर्न सकेनौँ । अहिले प्रशोधनचाहिँ गर्दैनौँ । तर, बेसारखेती भने लगाएका छौँ,’ राई भन्छन्, ‘विगतको जस्तो सामूहिक खेती पनि छैन । अहिले व्यक्तिगत रूपमा खेती लगाएका छौँ ।’
राईसहित स्थानीयले सुरुमा अदुवाखेती गर्दै आएका थिए । तर, अदुवा छिटो कुहिने भएको र बजार पनि राम्रो नभएका कारण बेसारखेतीको सुरुवात गरिएको उनी बताउँछन् । बेसारखेतीमा राम्रो सम्भावना भए पनि बजारीकरणको भने समस्या रहेको राईको भनाइ छ । ‘बेसारखेतीमा राम्रो सम्भावना छ । बेसारखेतीको लागतभन्दा तेब्बर आम्दानी पनि हुन्छ । किसान व्यावसायिक बन्न सक्छन् । तर, बजारको समस्या छ । गाउँपालिकाले बजार व्यवस्थापन गरिदिए किसानलाई सहज हुने थियो ।
माङसेबुङ– १ का किसान रामभक्त निरौलाले पनि यसपटकदेखि एक रोपनी क्षेत्रमा बेसारखेती लगाएका छन् । धेरै वर्षअघि बेसारखेती गरेका उनले बजार नपाएकै कारण बेसारखेती गर्न छाडेका थिए । तर, यसपटक भने गाउँमै सहकारीले बेसार प्रशोधन केन्द्रसमेत स्थापना गरेकाले बेसारखेती सुरु गरेको बताए ।
‘पहिला बेसारखेती लगाएको थिएँ । बजार नपाएर लगाउन छाडेँ । अहिले फेरि यो वर्षदेखि बेसारखेती सुरु गरेको छु । बोट हेर्दा राम्रो भएको छ,’ उनी भन्छन्, ‘गाउँमा सहकारीले नै बेसार खरिद गरिदिने भएका कारण सजिलो पनि भएको छ । अब बजारको चिन्ता छैन ।’ विगतमा अदुवा खेती गर्दै आएका किसान पनि अहिले बेसारखेतीतर्फ आकर्षित भएको उनी बताउँछन् । ‘बेसारखेती अदुवाजस्तो झन्झटिलो छैन । एकपटक गोडमेल गरेपछि हुन्छ । अहिले सहकारीले मनको २ हजारले खरिद गर्ने पनि भनेको छ,’ उनी भन्छन्, ‘तर, गाउँमा अर्गानिक खेती गर्नुपर्ने हो । झार मार्नका दुःखले विषादी हाल्ने चलन बढेको छ । यसमा चाहिँ स्थानीय सरकारले सचेतनाको काम गर्नुपर्छ ।’
माङसेबुङ– १ स्थित श्री गजुरमुखी महिला बहुउद्देश्य सहकारी संस्थामा आबद्ध ७२ जना किसान अहिले बेसारखेतीमा आबद्ध भएको सहकारीकी अध्यक्ष डिकमाया लुवागुनले बताइन् । सहकारीले कृषकलाई निःशुल्क बिउ उपलब्ध गराउँदै आएको छ । तर, त्यसबापत बेसार उत्पादन भएपछि लगेको बिउको आधा सहकारीलाई फिर्ता गर्नुपर्ने हुन्छ । यसपटक मात्रै ३६ क्विन्टल बिउ किसानलाई वितरण गरिएको उनी बताउँछिन् । केही वर्षयता बेसारखेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको सहकारीले हाल आफैँ बेसार प्रशोधन गरेर बजारसम्म पुर्याउँदै आएको उनी बताउँछन् । बेसार प्रशोधनका लागि सहकारीले मेसिन खरिद गरेको छ । गाउँपालिकाको ६ लाख ७५ हजार अनुदान र सहकारीको ३० प्रतिशत लगानीमा मेसिन खरिद गरिएको उनले बताइन् । अहिले सहकारीले ‘माङसेबुङको बेसार’ ब्रान्ड बनाएर बेसार बजारसम्म पुर्याएको छ । ‘अहिले हामी परीक्षणकालमा पनि छौँ । त्यसकारण पनि स्थानीय क्षेत्रमै खपत भइरहेको छ,’ उनी भन्छिन्, ‘अब हामीले बजार खोज्नुपर्नेछ । तर, बजार पाउँछौँ भन्ने अपेक्षा गरेका छौँ ।’
माङसेबुङ– १ का किसान पछिल्लो समय व्यावसायिक बेसारखेतीमा आकर्षित भएको माङसेबुङ– १ का वडाध्यक्ष भुपाल योङहाङ बताउँछन् । मकैसँगै लगाउन मिल्ने भएका कारण पनि किसानले अहिले बेसारखेती लगाउँदै आएको उनको भनाइ छ । यसमा माङसेबुङ गाउँपालिकाले पनि सहयोग गरिरहेको उनको भनाइ छ । ‘अन्य खेतीमा जस्तो बेसारखेतीमा बाँदरले पनि दुःख दिँदैन । सहजै उत्पादन हुन्छ । अहिले गाउँमै सहकारीले प्रशोधन केन्द्र खोलेका कारण किसानलाई बिक्दैन कि भन्ने चिन्ता पनि छैन,’ उनी भन्छन्, ‘तसर्थ अहिले किसानहरू बेसारखेतीमा अकर्षित भएका छन् । मैले आफैँ पनि बेसारखेती लगाएको छु । आम्दानी पनि राम्रो हुँदै आएको छ ।’
माङसेबुङ क्षेत्रको आधार नै कृषि भएका कारण कृषिलाई प्रवर्द्धन गर्न स्थानीय सरकार लागिपरेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई बताउँछन् । कृषि क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । ‘कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने गाउँपालिकाको मुख्य उद्देश्य हो । नजिकै झापाका बजार भएका कारण पनि कृषि क्षेत्रमा माङसेबुङको भविष्य राम्रो छ,’ उनी भन्छन्, ‘उत्पादन भएका कृषिउपजको बजारीकरणमा पनि स्थानीय तहले कृषलाई सहयोग गर्छ । हामीले कृषिलाई प्राथमिकतामा राखेर नीति बनाइरहेका छौँ ।’