जंगलमा एउटा पोथी सिंहको मृत्यु भएपछि उसको एउटा बच्चा एक्लो भयो । जंगलमा चर्न गएको एउटा गाईले भोकले तड्पिरहेको सिंहको बच्चालाई देख्यो । गाईभित्र रहेको ममताले सो बच्चालाई एक्लै छाड्न दिएन । सिंहको बच्चाले पनि गाईलाई आफ्नी आमाजस्तै ठानेर उसैको पछि लागिरहेको थियो । गाईले सिंहको बच्चालाई आफूसँगै लिएर गयो र आफ्नै दुध चुसाउन थाल्यो ।
एक दिन एउटा सर्पले यो सब देख्यो । उसले गाईलाई भन्यो– आज तिमीले जसलाई आफ्नो दुध चुसाएर हुर्काइरहेका छौ, ठुलो भएपछि एकदिन त्यसैले तिमीलाई खानेछ । गाईले खुसी हुँदै भन्यो– आफूले दुध चुसाएर हुर्काएको सन्तानले मलाई कुनै दिन मारेर खाएछ भने त्यो मेरा लागि थप खुसीको क्षण हुनेछ । मलाई त्यसको कुनै चिन्ता छैन । समय बित्दै जाँदा सिंह पनि जवान भयो । गाईको दुध पिएको उसैको संगतले गर्दा उसले अन्य जनावरको मासु खानै सिकेन । ऊ जीवन निर्वाहका लागि फलफूल खान्थ्यो ।
एक दिन स्याउ खाँदै गरेको सिंहलाई देखेर चितुवाले उसलाई खुब जिस्क्यायो । के तिमी सिंह हौ ? के तिमी सिंह भएर पनि मासुको साटो स्याउ खाँदै छौ ? सिंहले भन्यो– मेरी आमा गाईले मलाई अरू कुनै पनि जनावरलाई दुःख दिनुहुँदैन, मार्नु त झन् हुँदैहुँदैन भनेर सिकाएकी छिन् । चितुवाले भन्यो– त्यसो हो भने मलाई पनि तिम्री आमासित भेटाऊ न त । जब चितुवा सिंहसँग गाईको नजिक पुग्यो, उसले हत्तपत्त गाईमाथि आक्रमण गर्यो । सिंहले सबै कुरा बुझ्यो र उसले तत्काल चितुवामाथि आक्रमण गरेर उसलाई त्यहाँबाट लखेट्यो । भाग्दाभाग्दै चितुवाले मनमनै भन्यो– आज सिंहजस्तो शक्तिशाली सन्तानकी आमालाई क्षति पुर्याउन खोजेर मैले निकै ठुलो भुल गरेछु ।