हेटौँडाको रातोमाटे र बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

मकवानपुर प्रहरीले हेटौँडाका दुई फरक स्थानबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। नियमित सुरक्षा जाँचका क्रममा ठुलो परिमाणमा ट्रामाडोल, नाइट्राजेपाम र खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार असार २३ गते साँझ हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्टमा सवारी जाँच गर्ने क्रममा वीरगन्जबाट दाङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०५५५ नम्बरको यात्रुवाहक बसमा सवार बारा निजगढ नगरपालिका–२ निवासी २५ वर्षीय आर्यन घिमिरेलाई पक्राउ गरिएको हो।

उनको साथमा रहेको झोलाको खानतलासी गर्दा ट्रामाडोल ५४० क्याप्सुल (५४ पत्ता) र नाइट्राजेपाम ४८ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। नाइट्राजेपामको दुई ट्याब्लेट भने सेवन गरिएको अवस्थामा खाली पत्ता फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१०, बसपार्क क्षेत्रमा गरिएको छुट्टै कारबाहीका क्रममा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ३७ वर्षीय देव श्रेष्ठलाई पक्राउ गरिएको हो। उनको साथबाट २ ग्राम २४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

दुवैजनालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सुझावित समाचार