सुकुमवासीमाथिको अमानवीय व्यवहार रोक्न नागरिक अभियन्ताहरूको माग

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूलाई त्यहाँबाट हट्न अल्टिमेटम दिने, धाकधम्की दिने र भोकमरीको जोखिममा धकेल्ने कार्य भइरहेको भन्दै मानव अधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनीहरूले यस कार्यलाई निन्दनीय, निकृष्ट, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको संज्ञा दिँदै तत्काल अत्याचार अन्त्य गर्न सरकारसँग जोडदार माग गरेका छन्।

जबर्जस्ती उठिबास लगाई नियन्त्रणमा लिएर भोकै राख्ने कार्य प्रचलित कानुनअनुसार कसुरजन्य कार्य रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको तत्काल फौजदारी अनुसन्धान गरी जिम्मेवार पदाधिकारीहरूलाई कानुनबमोजिम मुद्दा चलाई फौजदारी जवाफदेहिता सुनिश्चित गर्न तथा उल्लंघन तथा अपराधपीडितहरूलाई नेपालको संविधानको धारा २१ (२) बमोजिम परिपूरणीय न्याय सुनिश्चित गर्न हामी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ।’

अभियन्ताहरूले गम्भीर मानव अधिकार उल्लंघनको प्रभावकारी अनुगमन तथा छानबिन गरी जवाफदेहिता बहन गराउन ठोस पहलकदमी लिन राष्ट्रिय मानव अधिकार आयोग, संसदीय समिति र सांसदहरूलाई आग्रह गरेका छन्।

सुझावित समाचार