विद्युतको पोलमा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

उदयपुरमा विद्युतको पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरणमा करार सेवामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका– ९, भोचुवाका अन्दाजी ४५ वर्षीय मिलन राई रहेका छन्। उनी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटअन्तर्गत करार सेवामा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रमुख इन्स्पेक्टर अश्विन टोलांगीका अनुसार बेलका नगरपालिकास्थित नगर अस्पतालनजिक सडक किनारको विद्युत् पोलमा मर्मत कार्य गरिरहेका वेला आज बिहान करिब ११ बजे राईलाई करेन्ट लागेको थियो । उनले भने, ‘उनको घटनास्थलमै मृत्यु भएको हो ।’

इन्स्पेक्टर टोलांगीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए। यता नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटका प्रमुख मनोजकुमार झाले विद्युतको लाइन नकाटी पोलमा चढेर तार मर्मत गर्ने क्रममा दुर्घटना भएको बताए ।

उनका अनुसार मर्मत कार्यअघि सुरक्षा मापदण्डअनुसार विद्युत् आपूर्ति बन्द (लाइन कट)  गर्नुपर्ने भए पनि त्यसो नगर्दा करेन्ट लागेर राईको मृत्यु भएको हो। घटनापछि प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ भने नेपाल विद्युत् प्राधिकरणले पनि घटनाको आन्तरिक अध्ययन सुरु गरेको जनाएको छ ।
 

See More On

सुझावित समाचार