प्रहरीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलियालाई पक्राउ गरेको छ ।उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने प्रलोभन देखाएको आरोपमा मंगलबार प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार बिरामीलाई प्रतिष्ठानको इमर्जेन्सी भवनअगाडि नै फकाएर निजी मेडिकलतर्फ लैजाने गतिविधि भइरहेको सूचनाका आधारमा बुधबार १० जना बिचौलियालाई प्रहरीले इमर्जेन्सी भवनपरिसरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुनसरीको कृष्णसवरन गाउँपालिका– ३ का ३० वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका– ६ की २७ वर्षीया रिविना मण्डल, भोजपुरको आमचोक गाउँपालिका– ८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान उपमहानगरपालिका– १५ का २० वर्षीय सागर पोखरेल र मोरङको लेटाङ नगरपालिका– ३ का २९ वर्षीय सानिन किराँती छन्।
यसैगरी, धरान– ६ का २३ वर्षीय मनीष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान– १७ का ३५ वर्षीय थिरज निरौला, इनरुवा नगरपालिका– २ का ३१ वर्षीय रोहित मेहता र धरान– ११ का ४८ वर्षीय विनोद मेहतालाई पनि पक्राउ गरिएकाे छ ।
देशकै ठुलो शिक्षण अस्पताल धरानस्थित बिपि प्रतिष्ठानमा उपचार गराउन आएका बिरामीलाई परिसरमा बिगबिगी रहेका बिचौलियाहरूले बिरामी तथा आफन्तलाई झुक्याएर निजी मेडिकलतर्फ लैजाने, औषधि खरिदमा प्रभाव पार्ने तथा उपचार प्रक्रियामा अवाञ्छित हस्तक्षेप गर्ने गतिविधि गर्दै आएका छन् । प्रहरीले बिपी प्रतिष्ठानमा बिचौलियाहरूको कडा निगरानी जारी राखेको जनाएको छ ।