- पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ब्याग सिलाउने सिपमूलक तालिम अहिले वार्षिक ५० लाखको कारोबार गर्ने उद्योगमा परिणत, ५० भन्दा बढी प्रकारका उत्पादन
उदयपुरको रौतामाई गाउँपालिका– ७, मुकुर्चीका महिला यतिवेला स्वरोजगार बनेका छन् । बिहान–बेलुकाको घरधन्दा सकेपछि गाउँमै ब्याग सिलाउने उनीहरूले मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका हुन् । पाँच वर्ष अघिबाट सञ्चालन हुँदै आएको सिपमूलक तालिम अहिले वार्षिक ५० लाख रुपैयाँ कारोबार गर्ने सामुदायिक उद्योगमा रूपान्तरण भएको छ । मुकुर्चीस्थित कञ्चन सामुदायिक ब्याग उद्योग अहिले सफल महिला उद्यममा परिणत भएको छ ।
उद्योगमा विद्यालयका झोला, ल्यापटप ब्याग, ट्राभल ब्याग, लगेज, लेडिज ब्याग, तरकारी बोक्ने ब्याग, पर्सलगायत ५० भन्दा बढी प्रकारका ब्याग उत्पादन भइरहेका छन् । उद्योगले मासिक करिब दुई हजार थान ब्याग उत्पादन गर्दै आएको छ । उद्योग सञ्चालन गरिरहेको रौतामाई सामुदायिक हित केन्द्रले विगत पाँच वर्षदेखि महिलालाई ब्याग बनाउने सिप सिकाउँदै आएको छ । हाल १० जना महिला तालिममा छन् भने सातजना दक्ष महिला उद्योगमै नियमित उत्पादनमा खटिएका छन् ।
उद्योगकी सचिव राधा मगरका अनुसार विपन्न परिवारका महिलालाई निःशुल्क तालिम उपलब्ध गराइन्छ । अन्य इच्छुक महिलाबाट मासिक पाँच हजार रुपैयाँ शुल्क लिएर तालिम सञ्चालन गरिन्छ । तालिमपछि महिलाले आफ्नै घरमा सिलाइ मेसिन राखेर पनि व्यवसाय सञ्चालन गर्न थालेका छन् । ‘हामीले सिप मात्र सिकाएका छैनौँ, महिलालाई आफ्नै खुट्टामा उभिन सक्ने बनाएका छौँ,’ मगरले भनिन्, ‘धेरै महिला अहिले घरमै ब्याग उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।’
उद्योगमा कार्यरत महिलाले घरायसी कामपछि खाली समयमा उत्पादनमा संलग्न भएर मासिक २० देखि २५ हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन् । ‘घरको जिम्मेवारी पनि पूरा भएको छ, आम्दानी पनि भइरहेको छ,’ उद्योगमा कार्यरत सञ्जु आलेमगर भन्छिन्, ‘अहिले आफ्नै कमाइले घरखर्च धान्न सकेका छौँ ।’
उद्योगले उत्पादन गर्ने ब्यागको मूल्य एक सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ । ग्राहकको आवश्यकताअनुसार डिजाइन, आकार र गुणस्तरमा उत्पादन गर्ने भएकाले स्थानीय बजारमा उद्योगले राम्रो पहिचान बनाएको छ । हाल उद्योगका उत्पादन गाईघाट, कटारी, बेलटार, मुकुर्ची र नेपालटारका बजारमा नियमित बिक्री भइरहेका छन् । विद्यालय, स्थानीय तह, सहकारी, संघ–संस्था तथा निजी कार्यालय मुख्य ग्राहक हुन् । केही उत्पादन काठमाडौंसम्म पुग्ने गरेको उद्योगले जनाएको छ । ‘हाम्रो ब्यागको सिलाइ बलियो हुन्छ, त्यसैले विद्यालय र संस्थाबाट दोहोरिने अर्डर आउने गरेको छ,’ मगरले भनिन् ।
उद्योगले वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार गर्दै आएको छ । आठवटा औद्योगिक सिलाइ मेसिनमार्फत उत्पादन भइरहेको उद्योगमा पछिल्लो समय कपडा, धागो र अन्य कच्चा पदार्थको मूल्य बढ्दा लागत भने उल्लेख्य रूपमा बढेको बताइएको छ ।
कञ्चन सामुदायिक ब्याग उद्योगबाट सिप सिकेका महिलाले मुकुर्ची बजारमै थप दुईवटा ब्याग उद्योग सञ्चालनमा ल्याइसकेका छन् । यसले सिप हस्तान्तरणसँगै स्थानीय उद्यम विस्तार हुने सम्भावना पनि देखाएको उद्योगकी सचिव मगरले बताइन् । ग्रामीण महिलालाई सिप, उत्पादन र बजारसँग जोड्न सके स्वरोजगार सिर्जना गर्न ठुलो लगानी आवश्यक नपर्ने उदाहरण कञ्चन सामुदायिक ब्याग उद्योगले दिएको उनको भनाइ छ ।