बिचौलिया भट्टसँग देउवापुत्र जयवीरको अढाई करोडभन्दा बढीको शंकास्पद कारोबार

सम्पत्ति शुद्धीकरण मुद्दामा जयवीरलाई सात दिनभित्र हाजिर हुन विभागको सूचना

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणसहित विभिन्न चार मुद्दा अभियोजन भएर हाल कारागारमा रहेका बिचौलिया दीपक भट्टसँगको शंकास्पद वित्तीय कारोबारमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीर पनि संलग्न देखिएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक छानबिनका आधारमा भट्टसँग जयवीरको अढाई करोड रुपैयाँभन्दा बढीको शंकास्पद कारोबार देखिएको हो ।

छानबिनका क्रममा भट्टसँगको शंकास्पद कारोबार देखिएपछि विभागले कार्यालयमा हाजिर हुन जयवीरको नाममा सार्वजनिक सूचना जारी गरेको छ । सात दिनभित्र कार्यालयमा हाजिर हुन मंगलबार सूचना जारी गरेको हो ।

‘सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्यादबाहेक यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानुनबमोजिम हुनेछ ।’

भट्टमाथि छानबिनका क्रममा उनको शंकास्पद कारोबारको जालो खोज्दै जाँदा विभागका अनुसन्धान अधिकारीहरू जयवीरसम्म पुगेका हुन् । छानबिनमा संलग्न प्रहरीसहितको संयुक्त टोलीका अनुसन्धान अधिकारीहरूका अनुसार भट्ट र जयवीरबिच स्पष्ट वित्तीय कारोबार देखिएका छन् । हाल प्रारम्भिक रूपमा अघि बढेको अनुसन्धानमा उनीहरूबिच कम्तीमा अढाई करोडबराबरको कारोबार खुलेको छ । भट्ट र जयवीरका एक–अर्काका कम्पनीबिच वित्तीय कारोबार देखिएका छन् । यी कारोबार विगत डेढ–दुई वर्षको अवधिमा भएको पनि देखिएका छन् । जयवीरको कम्पनीमा भट्टको समेत लगानी फेला परेको छ ।

‘छानबिन चलिरहेको छ,’ एक अनुसन्धान अधिकारीले भने, ‘छानबिन अघि बढ्दा कारोबार भएको देखिने आधारहरू फेला पर्दै छन् ।’ जयवीर मात्र होइन, देउवाका साला भूषण राणाको पनि भट्टसँग शंकास्पद कारोबार देखिएको छ ।

जेन–जी आन्दोलनपछि देउवादम्पती विदेशमा छ । उनीहरू हङकङमा रहेको अनुमान गरिएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद ठेक्काको छानबिनका क्रममा देउवापत्नी आरजुलाई बयानका लागि उनीहरूको काठमाडौं बुढानीलकण्ठस्थित निवासमा सूचना टाँसेको थियो । तर, आरजु हाजिर नभएपछि अख्तियारले राहदानी विभागका महानिर्देशकसहितलाई प्रतिवादी कायम गरेर मुद्दा दायर गर्यो । आरजुमाथि दोस्रो चरणमा अनुसन्धान हुने अख्तियारले भनिसकेको छ । अहिले पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरणले छानबिन थालेपछि देउवा परिवारमाथि थप दबाब बढेको छ । 

See More On

सुझावित समाचार