साबिक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले हराउँदै २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान सुरक्षित गरेको छ । अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेश खेलमा स्विट्जरल्यान्ड र कोलम्बियाबिचको विजेताविरुद्ध खेल्नेछ । मोहमद सलाहको कप्तानीमा रहेको इजिप्टले मंगलबार राति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाविरुद्ध २–० को अग्रता लिएको थियो ।
खेलको ७८औँ मिनेटसम्म इजिप्टले दुई गोलको अग्रता लिएको थियो । अर्जेन्टिनाले अन्तिम १० मिनेटमा उत्कृष्ट खेल प्रदर्शन गरी बाजी मार्यो । अर्जेन्टिनालाई अन्तिम आठमा पुर्याउने क्रममा फर्नान्डेजले विजयी गोल गरेका हुन् । उनले खेलको अन्तिम अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको सटीक क्रसमा विजयी गोल गरेका हुन् ।
उनले गोल गर्नुअघि इजिप्टले अर्जेन्टिनाको पोस्टमा काउन्टर एट्याक्ट गरेको थियो । काउन्टरबाट आएको बलमा मार्टिनेजले दुईजना डिफेन्डर मात्र रहेको इजिप्टको डिबक्सभित्र फर्नान्डेजलाई क्रस निकाले । फर्नान्डेजले डिबक्सभित्र पहिलो बारमा ओपन हेडिङ गोल गरे । एटलान्टा रंगशालामा खेल समाप्तिसँगै इजिप्टका खेलाडी निराश देखिए । अर्जेन्टिनी समर्थकले खुसी मनाएका थिए ।
७८औँ मिनेटसम्म इजिप्ट अगाडि
एटलान्टा रंगशालामा इजिप्टले उपाधि दाबेदार अर्जेन्टिनामाथि दबाब राखेको थियो । बल पोसेसनदेखि आक्रमणसम्म इजिप्ट अगाडि थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले इजिप्टलाई १–० को अग्रता दिलाउँदा अर्जेन्टिना स्तब्ध भयो । यासेरले मार्भान अटियाको पासमा गोल गरेका थिए । पहिलो हाफमै अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेनाल्टी मिस गरेका थिए । खेलको ६७औँ मिनेटमा मोस्ताफा जिकोले इजिप्टलाई २–० को अग्रता दिलाए । उनले काउन्टरमा हैसेम हसानको पासमा गोल गरेका हुन् । मार्भानको गोलसँगै अर्जेन्टिना मानसिक रूपमा कमजोर देखिएको थियो ।
तर, अर्जेन्टिना निरन्तर गोल फर्काउने प्रयासमा थियो । खेलको ७९औँ मिनेटमा रोमेरोले अर्जेन्टिनालाई २–१ को स्थितिमा ल्याए । ८३औँ मिनेटमा मेसीले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए । उनले माटिएको पासमा क्रसबारमा गोल गरेका हुन् । प्रतिस्पर्धामा इजिप्टको एक गोल मान्य भएन । जिततर्फ अग्रसर हुँदा इजिप्टले अन्तिम समयमा डिफेन्डरलाई मैदानभित्र प्रवेश गराएको थियो । इजिप्टले डिफेन्स रणनीति अपनाउँदा अर्जेन्टिनाले निरन्तर रूपमा पोस्ट आक्रमण गरेको थियो ।
गोल्डेन बुटमा मेसी अगाडि
इजिप्टविरुद्धको पहिलो हाफमा पेनाल्टी मिस गरेका मेसी चालू विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा पुगेका छन् । उनले चालू विश्वकपमा आफ्नो गोल संख्या आठ पुर्याएका छन् । गोल्डेन बुट दौडमा फ्रान्सका केलियन एम्बाप्पे र नर्वेका अर्लिङ हाल्यान्डले समान सात गोल गरेका छन् । इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलका साथ चौथो स्थानमा छन् । विश्वकपमा मेसीले आफ्नो गोल संख्या २१ पुर्याए । उनलाई एम्बाप्पेले पछ्याइरहेका छन् । मेसीले विश्वकपमा ३१ खेल खेलेका छन् । मेसीको यो लगातार छैटौँपटक विश्वकप सहभागी हो । दोस्रो स्थानमा रहेका एम्बाप्पेले १९ खेलमा १९ गोल गरेका छन् ।
धेरै पेनाल्टी मिस गर्ने मेसी
विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा रहेका अर्जेन्टिनी कप्तान मेसीको नाममा खराब रेकर्ड बनेको छ । उनी एकै विश्वकपमा दुई पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन् ।
समूह चरणमा उनले अल्जेरियाविरुद्ध असफल पेनाल्टी प्रहार गरेका थिए । प्रिक्वार्टरफाइनलमा उनले इजिप्टविरुद्ध पनि पेनाल्टी चुकाए । समग्र विश्वकपमा निर्धारित समयमा तीनपटक पेनाल्टी चुकाउने उनी पहिलो खेलाडी हुन् । घानाका गायनले दुईपटक पेनाल्टी मिस गरेका छन् ।