पहिलोपटक सुदूरपश्चिम विश्वविद्यालयले आफ्नै उपकुलपति (भिसी) पाएको छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको १७औँ वर्षमा सुदूरपश्चिम विश्वविद्यालयले आफ्नै उपकुलपति (भिसी) पाएको हो। सरकारले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. किसनदत्त भट्टलाई नियुक्त गरेको छ । ३ असार ०६७ स्थापना भएको विश्वविद्यालयमा हालसम्म फुल भिसीमा नियुक्त भएका उपकुलपति त्रिविसहितका अन्य बाह्य विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूले पाएका थिए ।
संस्थापक भिसीमा प्रा.डा. जयराज अवस्थी, क्रमशः भूषण श्रेष्ठ, अम्मराज जोशी, हेमराज पन्त र संक्रमणकालीन समयमा छोटो अवधिका लागि सुदूरपश्चिम विश्वविद्यालयमै कार्यरत प्रा.डा. पूर्णबहादुर चन्द, कर्णबहादुर थापा, यज्ञराज पाठकले जिम्मेवारी पाएका थिए । फुल पाँचौँ भिसीमा अहिले सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियर संकायमै कार्यरत पूर्वडिन प्रा.डा. किसनदत्त भट्टले नेतृत्व पाएका छन् ।
यसअघि राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्त हुने गरेको भए पनि रास्वपा नेतृत्वको सरकारले यसपटक विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा छनाेट गरेको छ ।
शुक्रबार (१९असार) ०८३मा कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भट्टलाई सुदूरपश्चिमको उपकुलपति (भिसी)मा नियुक्त गरेका हुन् । सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा छनाेट समितिको सिफारिसका आधारमा सरकारले भट्टलाई सुदूरपश्चिम विश्वविद्यालयको नेतृत्व सुम्पिएको हो ।
सरकारले यसअघि तत्कालीन कांग्रेस–एमाले नेतृत्वको सरकारका पालामा नियुक्त भएका सुदूरपश्चिम विश्वविद्यालयका सबै पदाधिकारी पदमुक्त गरेर खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरेको छ । भिसीका नियुक्त भएको चार दिनमै कार्यभार सम्हालेका भट्टले सुदूरपश्चिम विश्वविद्यालय हाँक्ने सात संकल्प लिएका छन् । उपकुलपति भट्टले गुणस्तरीय शिक्षा, पाठ्यक्रम बजार सुहाउँदो मागअनुरूप परिमार्जित, आर्थिक आत्मनिर्भरता, केन्द्रीय, आंगिक, सम्बन्धन कलेजको पुनर्संरचना, दक्ष मानव स्रोत साधन निर्माण, सुशासन, रिसर्च सेन्टर, डिजिटलाइजेसन कार्यक्रमको लक्ष्य अघि सारेका छन् ।