नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारीसाधन, एम्बुलेन्स तथा रेडक्रस चिह्नको अनधिकृत र गैरसंस्थागत प्रयोग नगर्न सबै सम्बन्धित निकाय तथा सरोकारवालालाई निर्देशन दिएको छ।
केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा संस्थाका सम्पत्तिहरू विशुद्ध मानवीय सेवा, राहत, उद्धार, स्वास्थ्य सेवा, विपत् व्यवस्थापन तथा रक्तसञ्चारलगायत स्वीकृत संस्थागत कार्यका लागि मात्र प्रयोग गर्न आग्रह गरिएको छ।
रेडक्रसका अनुसार पछिल्लो समय संस्थाका नाममा रहेका केही सवारीसाधन र एम्बुलेन्स व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा राजनीतिक प्रयोजनमा प्रयोग भइरहेको भन्ने गुनासा र सञ्चारमाध्यममा आएका समाचारप्रति संस्थाको ध्यानाकर्षण भएको हो। यस्ता गतिविधि संस्थाको नियम, आचारसंहिता तथा मानवीय मूल्यविपरीत भएकाले पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।
संस्थाले सवारीसाधन, एम्बुलेन्स वा रेडक्रस चिह्नको दुरुपयोगले संस्थाको विश्वसनीयता र छविमा नकारात्मक असर पर्ने उल्लेख गर्दै स्वीकृत उद्देश्यबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ।
सूचनामा संस्थाको नियम तथा आचारसंहिताविपरीत सवारीसाधन वा एम्बुलेन्स प्रयोग गरेको पाइए सम्बन्धित व्यक्ति वा निकायलाई प्रचलित नियमअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
