पोखराका उपकुलपति प्रा.डा. अधिकारीले सम्हाले कार्यभार

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले आफ्नो कार्यभार सम्हालेका छन् । पोखरा महानगरपालिका– ३०,  खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुगेर उपकुलपति अधिकारीले सोमबार आफ्नो कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्न कार्यालय पुगेका उपकुलपतिलाई विश्वविद्यालयका रजिस्ट्रार, विभिन्न संकायका डिनहरू, परीक्षा नियन्त्रक, विभिन्न निकायका प्रमुख, स्कुल निर्देशक, अस्पताल निर्देशक, शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वागत गरेका थिए ।

कार्यभार सम्हाल्दै अधिकारीले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रियकरणतर्फ अग्रसर गराउने, शैक्षिक क्यालेन्डर पूर्ण रूपमा लागू गर्ने, परीक्षासम्बन्धी सम्पूर्ण प्रक्रिया नियमित गर्दै परीक्षा सम्पन्न भएको ३० दिनभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यका साथ काम गर्ने बताए । त्यस्तै, डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्दै विद्यार्थीमैत्री एकीकृत प्रणाली विकास गर्दै सूचना, छात्रवृत्ति, विद्यार्थी सहायता तथा अन्य आवश्यक सेवाहरू एउटै प्लाटफर्मबाट उपलब्ध गराउने, विश्वविद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्ने, अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको पहिचान विस्तार गर्न संयुक्त अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य, गेस्ट लेक्चर, उद्योग–विश्वविद्यालय सहकार्य, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, पेटेन्ट अधिकार र अनुसन्धानको प्रभावकारितामा विशेष जोड दिने, विश्वविद्यालय सभा, प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्लाई शीघ्र पूर्णता दिइने र सम्पूर्ण सरोकारवालासँग सहकार्य र हातेमालो गर्दै विश्वविद्यालयको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

मोरङ जिल्लाको विराटनगर महानगरपालिका घर भएका उपकुलपति अधिकारी तीन दशकदेखि शिक्षण, अनुसन्धान, शैक्षिक नेतृत्व तथा विश्वविद्यालय प्रशासनमा सक्रिय रहँदै आएका छन् । भारतको तिलका माझी भागलपुर विश्वविद्यालयबाट भौतिक शास्त्र विषयमा विद्यावारिधि गरेका अधिकारी सन् १९९६ मा पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, पोखराबाट सहायक प्राध्यापकका रूपमा शैक्षिक सेवामा प्रवेश गरेका थिए ।

सन् २०१३ देखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा भौतिक शास्त्रका प्राध्यापकका रूपमा कार्यरत अधिकारीले भौतिक शास्त्र विभागाध्यक्ष, स्नातकोत्तर भौतिक शास्त्र कार्यक्रम संयोजक तथा अनुसन्धान समितिका अध्यक्ष, पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापक छनोट समितिका सदस्यका रूपमा काम गरिसकेका छन् ।

सुझावित समाचार