बागमती प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि व्यवस्था गरेको छात्रवृत्ति बजेट आवेदन नपर्दा फ्रिज भएको छ। प्राविधिक कारणवश तोकिएको समयसीमाभित्र केवल एकजनाको मात्र आवेदन परेपछि छात्रवृत्तिका लागि विनियोजित १ करोड रुपैयाँ सरकारी खातामै थन्किएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी होमबहादुर नेपालीले बताए।
प्रदेश सरकारले मेडिकल डाक्टर, आयुर्वेद डाक्टर, भेटेरिनरी डाक्टर, कृषि, इन्जिनियरिङ र स्टाफ नर्सजस्ता प्राविधिक विषयहरूमा कुल २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न गत जेठ महिनामा आवेदन माग गरेको थियो।
शनिबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले हेटौँडामा सरोकारवालासहित आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेशको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी नेपालीले प्रदेश सरकारले शिक्षा सुधारका धेरै कार्यक्रम गरेको भए पनि प्रचार हुन नसकेको गुनासो गरे। ‘अनिवार्य तथा नि:शुल्क शिक्षा सुनिश्चितताको घोषणा गर्न प्रत्येक पालिकामा २० लाख उपलब्ध गरायौँ, त्यो बजेट पनि पूर्ण उपयोग भएन,’ उनले भने।
सो अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक एवं सूचना अधिकारी निमप्रकाश सिंह राठौरले वर्तमान शैक्षिक अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुतीकरण गरेका थिए। साथै, शिक्षा पत्रकार संजीप घिमिरेले शिक्षाका मुद्दामा समाचार प्रस्तुतिबारे स्थानीय पत्रकारलाई अभिमुखीकरण गरे।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हरिचन्द्र सापकोटाले अभिभावक र स्थानीयको योगदान रहेका सामुदायिक विद्यालयले प्रगति गरेका र आफूले पनि आफ्ना सन्तान सामुदायिक विद्यालयमै पठाएको बताए। उनले निजी लगानीका विद्यालयलाई पनि उपमहानगरले विभेद नगरेको र लगानीअनुसार शुल्क सीमा निर्धारण गरेको दाबी गरे। जनप्रतिनिधिले शिक्षा क्षेत्रलाई दिने महत्त्वको आधारमा शिक्षाका कार्यक्रमले प्राथमिकता पाउने गरेकाले सञ्चारमाध्यमले जनप्रतिनिधिलाई घचघच्याउनुपर्ने उनको सुझाव छ।
प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले विद्यालयको भौतिक पूर्वाधार र शिक्षक दरबन्दीमा ध्यान पुर्याउनुपर्ने आवश्यकता औँल्याए भने नेपाल पत्रकार महासंघ मकवानपुरका प्रमुख बालकृष्ण अधिकारीले यस्ता कार्यक्रम शिक्षा क्षेत्रमा सुशासन प्रवर्द्धन गर्न सहयोगी हुने बताए।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीनै तहका सरकारमातहतका कार्यालयका प्रतिनिधि, शिक्षक, कर्मचारीसहित मकवानपुरमा क्रियाशील पत्रकारसँग शिक्षा सुधारबारे अन्तर्क्रिया सम्पन्न गरिएको आयोजक शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी शाखा अधिकृत गीता शर्माले जानकारी गराइन्।