बालपोषण भत्ता मासिक एक हजार रुपैयाँ पुर्‍याइने

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षदेखि बालपोषण भत्ता वृद्धि गर्दै मासिक एक हजार रुपैयाँ पुर्याउने भएको छ। बालबालिकाको पोषण अवस्था सुधार गर्ने तथा कुपोषण न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यसहित भत्ता रकम बढाउने व्यवस्था गरिएको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हाल मानव विकास सूचकांकमा पछाडि रहेका २५ जिल्लाका सबै बालबालिका तथा देशभरका दलित बालबालिकालाई मासिक ५३२ रुपैयाँका दरले उपलब्ध गराइँदै आएको बालपोषण भत्ता आगामी आर्थिक वर्षदेखि बढाएर मासिक एक हजार रुपैयाँ प्रदान गरिनेछ।

मन्त्रालयले भत्ता वृद्धिबाट बालबालिकाको पोषण अवस्थामा सुधार आउनुका साथै कुपोषण न्यूनीकरण, बाल अधिकार संरक्षण तथा बालमैत्री सामाजिक सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

मन्त्रालयका अनुसार मातृ–शिशु स्वास्थ्य तथा पोषणसँग सम्बन्धित कार्यक्रमहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत सञ्चालन भइरहेका छन्। आगामी दिनमा ती कार्यक्रमलाई थप प्रभावकारी, परिणाममुखी र समन्वयात्मक बनाउन सम्बन्धित निकायहरूसँग सहकार्यलाई सुदृढ गरिने जनाइएको छ।

सुझावित समाचार