महोत्तरीको बलवा नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ। पालिकामा १५ देखि ६० वर्ष उमेर समूहका कुल २८ हजार ११९ जनामध्ये २७ हजार ११५ जना (९६.४३ प्रतिशत) साक्षर भएपछि आइतबार औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिएको हो।
रतौली युवा क्लब, सेभ द चिल्ड्रेन तथा आसमान नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको अभियानमार्फत पालिकाका २४ वटै विद्यालयका शिक्षक र माध्यमिक तहका विद्यार्थी समुदायमा परिचालित भई निरक्षर नागरिकलाई साक्षर बनाउने अभियान सञ्चालन गरिएको थियो। नगरपालिकाले सबै वडामा निरक्षरको तथ्यांक संकलन गरी सोही आधारमा साक्षरता कार्यक्रम कार्यान्वयन गरेको जनाएको छ।
साक्षरताका लागि निर्धारण गरिएका १२ सूचकमध्ये कम्तीमा ६ वटा सूचकमा दक्षता हासिल गर्नुपर्ने मापदण्डअनुसार शिक्षकको निगरानी र निर्देशनमा विद्यार्थीहरूले समुदायमै पुगेर निरक्षर नागरिकलाई साक्षर बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए। आवश्यक सबै मापदण्ड पूरा भएपछि क्रमशः सबै वडालाई साक्षर घोषणा गर्दै अन्ततः नगरपालिकालाई पनि साक्षर घोषणा गरिएको हो।
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य सुरिता साहको प्रमुख आतिथ्य तथा नगरप्रमुख रामविजय महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा बलवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको थियो। घोषणापत्र वाचन गर्दै प्रमुख अतिथि साहले नगरपालिकाको शिक्षा क्षेत्रप्रतिको प्रतिबद्धता र साक्षरता अभियानको सफलतालाई प्रशंसनीय उपलब्धि भएको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै साहले शिक्षाको गुणस्तर सुधार र दिगोपनाका लागि आगामी दिनमा पनि निरन्तर लगानी र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरिन्।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, शिक्षक, अभियानमा संलग्न विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले शिक्षा शाखा प्रमुख राजकिशोर झाको सक्रियता, नेतृत्व र अथक प्रयासकै कारण बलवा नगरपालिकाले साक्षर घोषणा गर्ने लक्ष्य हासिल गर्न सफल भएको भन्दै उनको योगदानको प्रशंसा गरेका थिए।