अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक क्रिप्टोकरेन्सीलाई ‘घोटाला’ भनेका थिए । यो अब उनका लागि एक प्रमुख पैसा कमाउने माध्यम बनेको छ, उनको हालै जारी गरेको वार्षिक वित्तीय खुलासाले देखाउँछ कि उनले गत वर्ष क्रिप्टोकरेन्सीबाट एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाएका थिए ।
यो समाचारले ट्रम्पका आलोचकलाई क्रोधित बनाएको छ । सिनेटमा डेमोक्य्राटिक सदस्य जुलियाना स्ट्र्याटनले ट्रम्पलाई अमेरिकी परिवारले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका वेला अर्बौं कमाउन आफ्नो सार्वजनिक पद दुरुपयोग गरेको आरोप लगाइन् । ‘उनको असीम लोभ घृणित छ,’ उनले भनिन् ।
ह्वाइट हाउसले ट्रम्प वा उनको परिवार स्वार्थको द्वन्द्वमा संलग्न भएको कुरा अस्वीकार ग¥यो । तर, ह्वाइट हाउसकी डिपुटी प्रेस सेक्रेटरी अन्ना केलीले भनिन्, ‘राष्ट्रपति ट्रम्प र उनको प्रशासनका सबै कार्य अमेरिकी जनताको सर्वोत्तम हितमा लिइएका छन् ।’ तर, ट्रम्पले क्रिप्टोकरेन्सीबाट कसरी यति धेरै पैसा कमाएका छन् ?
कसरी काम गर्छ क्रिप्टोकरेन्सीले ?
क्रिप्टोकरेन्सी भनेको सामान्यतया डिजिटल मुद्रा हो । यो परम्परागत मुद्राभन्दा दुइटा कुरामा फरक हुन्छ । पहिलो, परम्परागत मुद्रा सम्बन्धित देशका केन्द्रीय बैंकद्वारा जारी गरिन्छन्, जबकि क्रिप्टोकरेन्सी कम्प्युटर कोडमा लेखिएका नियमका आधारमा जारी गरिन्छ । क्रिप्टोका पछाडि रहेको कम्प्युटर कोड कुनै कम्पनीद्वारा नियन्त्रित हुन सक्छ । वा, उक्त कोड पहिले नै निर्धारित (उदाहरणका लागि, क्रिप्टोको एल्गोरिदम तय गर्ने ‘ह्वाइट पेपर’मा उल्लेख गरिएअनुसार) हुन सक्छ र कसैको पनि नियन्त्रणमा नहुन सक्छ ।
दोस्रो, परम्परागत मुद्राको कारोबार बैंकिङ प्रणालीमार्फत हुन्छ भने क्रिप्टोकरेन्सीको कारोबार ‘ब्लकचेन’मा हुन्छ । ब्लकचेन भनेको कसको स्वामित्वमा के छ भन्ने जानकारी भण्डारण गर्ने डेटाबेस हो । बिटकोइन सबैभन्दा पुरानो र चर्चित क्रिप्टोकरेन्सी हो, जसको संरचना विकेन्द्रीकृत छ र यसको जारी गर्ने प्रक्रिया वा यसबाट हुने नाफामा कुनै एक संस्थाको नियन्त्रण हुँदैन । बिटकोइनबाहेक निजी रूपमा जारी गरिएका हजारौँ सिक्का (कोइन) छन्, जुन इथेरियम वा सोलानाजस्ता सार्वजनिक ब्लकचेनमा सञ्चालन हुन्छन् । तर, बिटकोइनभन्दा फरक, यी निजी सिक्का नाफा कमाउने उद्देश्यले निजी कम्पनीद्वारा जारी गरिन्छन् । ब्लकचेनमा हुने कारोबारमा निजी क्रिप्टो सम्पत्तिका विभिन्न स्वरूपको हस्तान्तरण समावेश हुन सक्छ ।
ट्रम्पका क्रिप्टो व्यवसाय के–के हुन् ?
ट्रम्प र उनको परिवार तीन प्रकारका डिजिटल सम्पत्तिसँग जोडिएका छन्, डलरटिआरयुएमपी मेमकोइन, सरकारी टोकन डब्लुएलएफआई र स्टेबल कोइन युएसडी१ । मेमकोइन त्यस्ता सिक्का हुन्, जसको पछाडि कुनै वास्तविक व्यवसाय हुँदैन । त्यसले लगानीकर्ताको ध्यानबाट आफ्नो मूल्य प्राप्त गर्छन् । यसविपरीत, स्टेबलकोइनहरू अमेरिकी डलर (युएसडी) जस्ता प्रचलित मुद्राको डिजिटल रूप हुन् ।
उदाहरणका लागि, युएसडी१ को प्रत्येक एकाइको मूल्य ठ्याक्कै एक अमेरिकी डलर हुने गरी तयार पारिएको हुन्छ । यो मूल्य कायम राख्नका लागि स्टेबलकोइन सामान्यतया अल्पकालीन सरकारी बन्ड र नगदद्वारा समर्थित हुन्छ । गभर्नेन्स टोकनहरू एक प्रकारका सिक्का हुन्, जसले धारकहरूलाई कुनै क्रिप्टो परियोजनासम्बन्धी निर्णय प्रक्रियामा मतदान गर्ने अधिकार त दिन्छन्, तर परियोजनामा स्वामित्व वा त्यसबाट हुने नाफामा दाबी गर्ने अधिकार भने दिँदैनन् ।
युएस डलर टिआरयुएमपी मेमकोइन सन् २०२५ को जनवरीमा ट्रम्पले दोस्रो कार्यकालका पदभार ग्रहण गर्नुभन्दा तीन दिनअघि सार्वजनिक गरिएको थियो । यसको कुल आपूर्तिको करिब ८० प्रतिशत हिस्सा ट्रम्पसँग सम्बद्ध कम्पनीसँग छ, साथै, ती कम्पनीले यो सिक्काको कारोबार वा हस्तान्तरण हुँदा प्रत्येकपटक शुल्क लिन्छ ।
डब्लुएलएफआई र युएसडी१ लाई ‘वल्र्ड लिबर्टी फाइनान्सियल’ले जारी गरेको हो, जसको स्थापना सन् २०२४ मा ट्रम्प परिवार र व्यापारिक साझेदारले संयुक्त रूपमा गरेका थिए । ट्रम्पको एउटा व्यापारिक संस्थाको यस कम्पनीमा करिब ६० प्रतिशत स्वामित्व छ र उक्त संस्था टोकन बिक्रीबाट प्राप्त हुने खुद आम्दानीको ७५ प्रतिशत हिस्सा पाउन हकदार छ ।
ट्रम्पको वार्षिक आर्थिक विवरणअनुसार गत वर्ष ‘वल्र्ड लिबर्टी’ बाट उनले ५० करोड डलरभन्दा बढी कमाएका थिए भने ‘मेमकोइन’ व्यवसायबाट ६० करोड डलरभन्दा बढी आम्दानी गरेका थिए । फोब्र्सका अनुसार अहिले ट्रम्पको कुल सम्पत्ति ६ अर्ब डलर रहेको अनुमान गरेको छ, जबकि दुई वर्षअघि उनको सम्पत्ति २.३ अर्ब डलर थियो ।
आउनुहोस्, युएसडी१ जस्तो ‘स्टेबलकोइन’ बाटै कुरा सुरु गरौँ । स्टेबलकोइन जारीकर्ताका रूपमा तपाईं डलर स्वीकार गर्नुहुन्छ, त्यसको सट्टामा कोइनहरू प्रदान गर्नुहुन्छ र प्राप्त डलर प्रयोग गरेर अमेरिकी ट्रेजरी बन्ड खरिद गर्नुहुन्छ । त्यसपछि, तपाईं ती ट्रेजरी बन्डबाट ब्याज कमाउनुहुन्छ । तपाईंले जति धेरै कोइन जारी गर्नुहुन्छ, त्यति नै ठुलो रकममा ब्याज कमाउनुहुन्छ । तसर्थ, यसको मुख्य उपाय भनेको कसैलाई तपाईंको स्टेबलकोइन प्रयोग गर्न र आफूलाई डलर बुझाउन (विशेषगरी ठुलो परिमाणमा) सहमत गराउनु हो ।
युएसडी१ का लागि डलर हस्तान्तरण गर्ने व्यक्ति विश्वको सबैभन्दा ठुलो क्रिप्टो एक्सचेन्ज बाइनान्स थियो, जसले २०२३ मा अमेरिकी मनी–लान्डरिंग उल्लंघनका लागि दोष स्वीकार गरेको थियो । बाइनान्सले युएसडी१लाई आधार बनाएर कम्प्युटर कोड लेखेको र यसलाई आफ्नो प्लाटफर्ममा प्रचार गरेको बताइएको छ । त्यसपछि, सन् २०२५ को मे महिनामा, संयुक्त अरब इमिरेट्सका राष्ट्रिय सुरक्षा सल्लाहकार सेख तहनुन बिन जायद अल नाह्यानको अध्यक्षतामा रहेको आबुधाबीको सरकारी कोष ‘एमजिएक्स’ले बाइनान्समा दुई अर्ब अमेरिकी डलर लगानी गर्यो । यस कदमले तुरुन्तै ट्रम्पको उद्यमका लागि दुई अर्ब डलरबराबरको ब्याज आर्जन गर्ने कोष खडा गर्यो, जसबाट वार्षिक करिब आठ करोड डलर आम्दानी हुने अनुमान गरिएको छ । बाइनान्सले आज युएसडी१को कुल हिस्साको ८७ प्रतिशत ओगट्छ ।
एक्सचेन्जले युएसडी१लाई सूचीकृत गरेको केही दिनमै सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले बाइनान्सविरुद्धको मुद्दा फिर्ता लियो र अक्टोबर २०२५ मा ट्रम्पले बाइनान्सका संस्थापक चाङपेङ झाओलाई माफी दिए । वाल स्ट्रिट जर्नलको अनुसन्धानले पछि यो खुलासा गर्यो कि ट्रम्पको शपथग्रहण समारोहभन्दा चार दिनअघि सेख तहनुनले वल्र्ड लिबर्टी नै करिब ५० करोड डलरमा गोप्य रूपमा ४९ प्रतिशत हिस्सेदारी खरिद गरेका थिए ।
द कन्भर्सेसनबाट