गौरवको योजनाका रूपमा मधेश प्रदेश सरकारले अघि सारेको सौर्य ऊर्जा कार्यक्रम कानुनी झमेला, अन्तरसरकारी समन्वयको अभावमा र संस्थागत कमजोरीका कारण अलपत्र अवस्थामा पुगेको छ । प्रदेश सरकार गठन भएसँगै सौर्य ऊर्जालाई मधेशको ‘समृद्धिको मेरुदण्ड’ बनाउने महत्वाकांक्षी योजना अघि सारिएको थियो ।
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ‘हाम्रो प्रदेश, उज्यालो प्रदेश’को नारा समेटियो, कानुन बनाइयो, बजेट विनियोजन गरियो, लगानी सम्मेलनमार्फत अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्झौता पनि गरियो । तर, ६ वर्ष बित्दा पनि हालसम्म पनि परिणाम भने निराशाजनक देखिएको छ ।
प्रशासनिक भवनबाट सुरुवात गर्दै पाँच वर्षमा प्रदेशभरि सौर्य ऊर्जा विस्तार गर्ने योजनासहित तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गौरवको योजना ल्याएका थिए । समथर तराईको भूभाग, लामो समयसम्म उपलब्ध सूर्यको प्रकाश, प्रशस्त खुला जमिन र भारतसँगको सीमावर्ती बजार पहुँचका कारण मधेश प्रदेश सौर्य ऊर्जाको प्रचुर सम्भावना रहेको उनको भनाइ थियो ।
कृषिप्रधान अर्थतन्त्र भएको प्रदेशमा सिँचाइ, कृषि प्रशोधन, साना तथा मझौला उद्योग, स्वास्थ्य संस्था, शैक्षिक प्रतिष्ठान र सामुदायिक रेडियो सञ्चालनका लागि भरपर्दो विद्युत् आपूर्ति आवश्यक हुन्छ । तर, मधेशको भौगोलिक बनावटमा जलविद्युत्को सम्भावना कम भएको कारण सौर्य ऊर्जा उत्तम विकल्पका रूपमा रहेको भन्दै प्रदेशले गौरवको योजनामा समेटेको थियो ।
सोही योजनाअनुसार प्रदेशका जिल्लाहरूमा सोलार प्लान्टका लागि केन्द्रीय सरकारसँग आर्थिक वर्ष ०७६÷७७ मै सहयोग माग्दा पनि सकारात्मक जवाफ आएन । हुन त आव ०७६/७७ मा कृषितर्फ वैकल्पिक ऊर्जाका लागि संघीय सरकारबाट पहिलो चरणमा एक करोड आएको थियो । त्यसपछि लगातार दुई वर्षसम्म संघीय सरकारले तीन–तीन करोडका दरले बजेट विनियोजन गर्यो । तर, विनियोजित रकम कानुन अभावमा खर्च हुन सकेन । जसले गर्दा पछि केन्द्र सरकारबाट बजेट आउनै बन्द भयो ।
मन्त्री सोनलको कार्यकालमा सौर्य ऊर्जाका लागि क्यानडाको स्काई पावर कम्पनीको नेपाल प्रतिनिधि चौधरी ग्रुपसँग सहमति पनि भएको थियो । तर, संघीय सरकारले इजाजत नदिँदा काम अघि बढन सकेन । सौर्य ऊर्जा प्लान्ट जडानका लागि पर्साको वीरगन्जस्थित ठाकुरराम क्याम्पस र बर्दीबासमा जग्गासमेत प्रदेश सरकारले खोजेको थियो । तर, प्रक्रिया पूरा नहुँदै सरकार परिवर्तन भएपछि योजना अगाडि बढ्न सकेन ।
सुरुवातमा प्रदेश सरकारको प्रशासनिक केन्द्रमा प्लान्ट लगाउने योजनाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले डिपिआरसमेत तयार पारेको थियो । तर, प्राधिकरणले सहयोग नगरेको पूर्वमुख्यमन्त्री लालबाबु राउतले बताए । उनी भन्छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीकै समन्वयमा काठमाडौंमा आयोजना गरिएको लगानी सम्मेलनमा क्यानडाको स्काई पावर कम्पनीका प्रतिनिधि निर्वाण चौधरीसँग दुई सय ५० मेगावाट सौर्य परियोजनाका लागि सम्झौता गरेका थियौँ । तर, विद्युत् प्राधिकरणले काम अघि बढाउन दिएन ।’ कार्य अघि बढाउन कम्पनीसँग विद्युत् प्राधिकरणले सम्झौता गर्नुपर्ने थियो । सो सम्झौता प्राधिकरणले नगर्दा परियोजना असफल भएको उनको भनाइ छ ।
०७५ चैतको लगानी सम्मेलनमा चौधरी ग्रुप (सिजी) र क्यानडाको कम्पनी स्काई पावरबिच नेपालमा ६ सय मेगावाट सौर्य परियोजनामा ५० अर्ब लगानी गर्ने सम्झौता भएको थियो । जसअन्तर्गत सिजी ग्रुपले मधेश सरकारसँग दुई सय ५० मेगावाट उत्पादन क्षमताबराबरका तीनवटा सौर्य आयोजनामा लगानी गर्ने सहमति भएको थियो ।
विद्युत् विकास विभागका अनुसार चौधरी ग्रुप इनर्जी इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेड (सिजिइआई)ले ०७५ सालमा पर्साको परवानीपुर सोलार फार्ममा ३० मेगावाट र महोत्तरीको सोलार पिभिप्रोजेक्ट ढल्केवर एक सय २० मेगावाट क्षमतासहित मधेशका दुई स्थानमा सौर्य ऊर्जा उत्पादनका लागि सर्वेक्षण अनुमति लिएको थियो । तर, प्राधिकरणले सम्झौता नगरेकाले ती योजनाहरू कार्यान्वयनमा आउन सकेनन् । त्यसपछि आव ०७७/७८ मा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय नै छुट्टै बनाइयो । पहिलो मन्त्रीका रूपमा ओमप्रकाश सर्राफ मन्त्री बने ।
उनले संघीय सरकारबाट आएको दुई करोड र प्रदेश सरकारबाट तीन करोड बजेट थपेर सौर्य ऊर्जातर्फ सोलार प्लान्ट बनाउन पाँच करोड छुट्याउन लगाए । तर, नेपाल विद्युत् प्राद्यिकरणको कानुनी अड्चनले यो पनि कार्यान्वयन हुन सकेन ।मन्त्री सर्राफले ०७७ सालमा पहिलो चरणमा विद्यालय र रेडियो एफएमलाई सोलार अनुदान दिने योजना ल्याए । त्यसमा पनि प्राधिकरणले असहयोग गर्दा कार्यान्वयन हुन सकेन । विद्यालय र रेडियोलाई कम्तीमा पाँचदेखि १० मेगावाटको सुविधा दिने योजना थियो ।
प्रदेशमा विद्युत् क्षेत्रको सर्वांगीण विकास, विद्युतीय स्रोतको पहिचान, प्रादेशिक वितरण प्रणाली एवं लाइनको निर्माण, विस्तार, व्यवस्थापन, सुदृढीकरण, सञ्चालन र मर्मत–सम्भार गर्ने, सबै वर्गका ग्राहकलाई व्यवस्थित, भरपर्दो, सर्वेक्षण गर्ने भन्दै प्रदेश सरकारले प्रादेशिक विद्युत् ऐन, २०७७ ल्यायो ।
प्रदेश सरकारले सौर्य ऊर्जा प्रवद्र्धनका लागि सार्वजनिक एवं निजी अस्पताल वा स्वास्थ्य केन्द्र, सार्वजनिक एवं निजी विद्यालय, शैक्षिक संस्था, सामुदायिक एवं निजी एफएम र महिला उद्यमी उद्योगमा संस्थागत सौर्य विद्युत् प्रणाली जडान गर्ने लक्ष्यअनुरूप ‘सौर्य ऊर्जा विशेष कार्यक्रम कार्य सञ्चालन तथा अनुदान परिचालन कार्यविधि २०८०’ पनि ल्यायो, तर कार्यान्वयनमा आउन सकेनन् ।
मन्त्री सर्राफ भन्छन्, ‘संविधानमा प्रदेश सरकारले २५ मेगावाटसम्म वैकल्पिक ऊर्जाको योजना सञ्चालन गर्न सक्ने व्यवस्था छ । तर, विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक कुलमान घिसिङको समयमा विद्युत् ऐन, २०४१ मा संशोधन गरी एक मेगावाटभन्दा बढीको वैकल्पिक ऊर्जाका लागि विद्युत् प्राधिकरणसँग सहमति लिनुपर्ने कानुनी व्यवस्था गरियो । त्यसले गर्दा रेडियो एफएम र विद्यालयमा लगाइने भनिएको सोलार प्लान्ट पनि विद्युत् प्राद्यिकरणले सहमति नदिँदा रोकिन गयो ।’
हाल प्रदेशका सौर्य ऊर्जाको अवस्था
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार हाल मधेश प्रदेशमा एक सय २६ संस्थागत सौर्य ऊर्जा प्रणाली सञ्चालनमा छन् । जसको कुल क्षमता २०८.५० किलोवाट रहेको छ । यसैगरी, मधेशमा दुई हजार आठ सय २८ वटा सौर्य सिँचाइ प्रणाली जडान भइसकेका छन् । आर्थिक वर्ष ०८२/८३ मा अन्य सिँचाइ आयोजनाबाट समेटिन नसकेका क्षेत्रमा सौर्य सिँचाइ प्रणालीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य राखिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी उपनिर्देशक पार्वता भट्ट बताउँछिन् ।
ब्रिटिस एम्बेसीको सहयोगमा सञ्चालित ‘नेपाल रिनुअल इनर्जी प्लान्ट’ परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जातर्फ केही काम भएका छन् । परियोजनामा संलग्न अभयकुमार यादवका अनुसार वैकल्पिक ऊर्जाअन्तर्गत सौर्य प्लान्टमार्फत चार मेगावाट विद्युत् उत्पादन, दुई सय मेगावाट क्षमताका विद्युत् चार्जिङ स्टेसन स्थापना तथा २० हजार पावर इन्डेक्स वितरण गरिएको थियो । त्यसबाहेक मधेश प्रदेशमा खासै काम भएको छैन ।
कागजमै सीमित गौरवका योजना
मधेश प्रदेश नीति आयोगले पहिलो आवधिक योजना (०७६/७७–०८०/८१) मा सौर्य ऊर्जा समावेश गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन । सौर्य ऊर्जा जडानका लागि आवश्यक जमिन र पर्याप्त घाम उपलब्ध हुँदाहुँदै पनि वैदेशिक लगानी आकर्षित गर्न नसक्नु तथा जनस्तरमा सौर्य ऊर्जाबारे पर्याप्त चेतना अभावका कारण गौरवका योजना कागजमै सीमित भएको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. भोगेन्द्र झाले बताए ।
पहिलो आवधिक योजनाका लक्ष्यहरू पूरा हुन नसकेको तथ्य आयोगकै दस्तावेजमा उल्लेख रहेको उनको भनाइ छ । आयोगले ‘आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी’ भन्ने नारासहित दोस्रो आवधिक योजना (०८१/८२–०८२/८३) समेत ल्याइसकेको छ । तर, उक्त योजनामा प्रदेशमा बत्ती बाल्न सौर्य ऊर्जा प्रयोग गर्ने दर ०.८ प्रतिशत मात्रै रहेको उल्लेख छ, जसले सौर्य क्षेत्रको कमजोर प्रगति झल्काउँछ ।
प्राधिकरणको सहयोग भएन
पूर्वमुख्यमन्त्री, लालबाबु राउत
२०७५ चैतमा काठमाडौंमा आयोजना गरिएको लगानी सम्मेलनमा क्यानडाको स्काई पावर कम्पनीका प्रतिनिधिसँग दुई सय ५० मेगावाट सौर्य परियोजनाका लागि सम्झौता गरेका थियौँ । तर, विद्युत् प्राधिकरणले काम अघि बढाउन दिएन । कार्य अघि बढाउन कम्पनीसँग विद्युत् प्राधिकरणले सम्झौता गर्नुपर्ने थियो । सो सम्झौता प्राधिकरणले नगर्दा परियोजना असफल भएको हो ।