सञ्चालक र उच्चपदस्थ कर्मचारीविरुद्ध मुद्दा चलेपछि संकटग्रस्त अवस्थामा पुगेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई सुधार गर्न नियामक निकाय नेपाल बिमा प्राधिकरणले अध्ययन अघि बढाएको छ । व्यवस्थापन नियन्त्रणमा लिने, नयाँ व्यवस्थापन नियुक्ति गर्नेलगायतका विकल्पमा प्राधिकरणले अध्ययन अघि बढाएको हो ।
प्राधिकरणले विभिन्न आधारमा टेकेर बिमा ऐन, २०७९ को दफा १०१ अनुसार बिमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्न सक्नेछ । त्यसपछि सुधारका लागि पुँजी वृद्धि गर्ने, नयाँ सेयर जारी गर्ने, लाभांशमा रोक लगाउने, सञ्चालक समिति पुनर्गठन गर्ने, व्यवस्थापन पुनर्गठन गर्नेलगायतका अधिकार ऐनको दफा १०२ मा छ । दफा १०२ को उपदफा ५ अनुसार कम्पनीले सुधार गर्न नसकेमा प्राधिकरणले विशेष व्यवस्थापन समूह गठन गरी कम्पनीको सञ्चालन तथा व्यवस्थापन नियन्त्रणमा समेत लिन सक्नेछ ।
हाल यस विषयमा प्राधिकरणका एक उच्च कर्मचारीको नेतृत्वमा सुपरिवेक्षण भइरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत पब्लिक कम्पनी हिमालयन रिमा सर्वसाधारणको तीन करोड २६ लाख चार हजार कित्ता सेयर छ । शुक्रबार कायम सेयर मूल्य प्रतिकित्ता पाँच सय ८३ रुपैयाँले त्यसको भ्यालु १९ अर्ब ८१ लाख ३२ हजार रुपैयाँ हुन्छ, जुन सञ्चालक र उच्चपदस्थ कर्मचारीको बदमासीले जोखिममा छ । बिमा व्यवसाय र पुनर्बिमा दाबी दायित्वमार्फत बैंकको ऋणसमेत जोखिममा परेको छ ।
प्राधिकरणले ३१ वैशाखमा एक सूचना जारी गर्दै हिमालयन रिलाई असार मसान्तसम्मका लागि पुनर्बिमा व्यवसाय गर्न रोक लगाइसकेको छ । असारपछिको अवधिमा के गर्ने भनेर ठोस योजना तय भइसकेको छैन । ‘अहिले कम्पनीले आफैँले पनि सुधारको प्रयास गरिरहेको देखिन्छ । प्राधिकरणले पनि यसलाई कसरी सुधार गर्न सक्छ भने अध्ययन गरिरहेको छ,’ स्रोतले भन्यो, ‘छिट्टै निष्कर्षमा पुग्छौँ ।’
मुख्यतः विवादास्पद व्यवसायी दीपक भट्टको अनियमिततामा सहयोग गरेपछि हिमालयन रिका सञ्चालक र व्यवस्थापनविरुद्ध मुद्दा चलेको छ । हिमालयन रिमा भट्टको इन्फिनिटी होल्डिङ्सको ४.५० प्रतिशत सेयर हिस्सा अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर छ । भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्सलगायतका कम्पनीको सेयर किन्न विभिन्न मितिमा हिमालयन रिबाट दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार लगेका थिए । तर, त्यो रकम असुलीमा कम्पनीको सञ्चालक र व्यवस्थापनले असहयोग गरेको थियो ।
सरकारले गत १८ जेठमा योसहित विभिन्न चार मुद्दामा दीपक भट्टसहित ९१ जनाविरुद्ध गत जिल्ला, उच्च र विशेष अदालतमा मुद्दा दर्ता भएका छन् । ३० अर्बहाराहारीको कुल बिगोमा दीपक भट्टसँग मात्रै २६ अर्ब ६३ करोड बिगो दाबी गरिएको छ ।
इतिहासकै ठुलो वित्तीय अपराध मानिएको यसमा हिमालयन रिका साधारण सेयरधनी भट्टसहित पूर्वअध्यक्ष शेखर गोल्छा, सिइओ उपासना पौडेलसहित अमित मोर, साहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला मनीषकुमार र दीपककुमार श्रेष्ठविरुद्ध संयुक्त रूपमा दुई अर्ब ७३ करोड ३३ लाख संयुक्त बिगो कायम गरी मुद्दा लगाइएको छ । यसअघि नै नयाँ सञ्चालक गठन गरिए पनि सिइओसहित व्यवस्थापन समूह भने रिक्त अवस्थामा छ । अदालतबाट दोषी ठहरिएमा सजाय भुक्तान गरेको पाँच वर्ष नभएसम्म उनीहरू यसका लागि कानुनी रूपमा अयोग्य हुनेछन् ।
अहिले कम्पनीको अध्यक्षमा उदयकुमार निरौला, दीपेन्द्रकुमार मिश्र, पृथ्वीराज थापा, आशिषचन्द्र न्यौपाने र सागरप्रसाद मुल्मी छन् । सिइओलगायतका उच्चपदस्थ पद भने रिक्त छ । हिमालयन रि हिल्टन होटेलको पुनर्बिमा दाबीको घोटालामा पनि विवादमा छ ।
हिल्टनको बिमा गरेको दी ओरियन्टल इन्स्योरेन्सले प्राधिकरणको निर्देशनविपरीत हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा हिमालयन रिमा गरेको थियो । तर, जेन–जी आन्दोलनमा ध्वस्त भएको हिल्टनको दाबी परेपछि त्यसको पुनर्बिमा दाबी भने सरकारी स्वामित्वको नेपाल रिमा गरेको थियो । यस सम्बन्धमा प्राधिकरणले हिमालयन रिलगायतका कम्पनीलाई कारबाही गरिसकेको छ । त्यसलगत्तै कम्पनी अर्काे ठुलो वित्तीय अपराधमा मुछिएको छ ।