गण्डकीका पाँच अग्रज पत्रकार सम्मानित

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

गण्डकी प्रदेशका पाँच अग्रज पत्रकारहरूलाई सम्मान गरिएको छ। प्रेस रजिस्टारको कार्यालयले ‘स्वच्छ प्रेसः समुन्नत गण्डकी प्रदेश’ नाराका साथ आयोजना गरेको गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा उनीहरूलाई नगद ५० हजार, ताम्रपत्र र दोसल्लासहित गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रेस रजिस्टार बिमला भण्डारीलगायतले सम्मान गरेका हुन्।

सम्मानित हुनेहरूमा अग्रज पत्रकार कास्कीका स्व. केशवराज पराजुली, कास्कीका तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन्। कार्यक्रममा सम्मानित पाँचजनाको बारेमा लेखिएको पुस्तक ‘हाम्रो समयको पत्रकारिता’ विमोचन गरिएको थियो।

प्रेस रजिस्टार भण्डारीले अग्रज पत्रकारको सम्मानको थालनी सुरु गरिएको बताउँदै अभिलेखीकरणबाट मात्र इतिहास बाँच्ने बताइन्। संघर्ष, अनुभव र योगदान दस्ताबेजीकरण गरिएन भने एउटा पुस्ताको सम्पूर्ण अनुभव हराउँदै र बिर्सँदै जाने भन्दै अग्रज पत्रकारको जीवन, संघर्ष, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रूपमा सुरक्षित गर्ने अभियान सुरु गरेको बताइन्।

सम्मानित पाँचजनामध्ये ९१ वर्षको उमेरमा १६ असारमा पराजुलीको निधन भएको थियो। जनमत दैनिकका संस्थापक एवं सम्पादक स्वतन्त्रता सेनानी पराजुली पोखरेली नवरत्नबाट समेत सम्मानित भएका थिए।

पोखराको आदर्श समाज राष्ट्रिय दैनिकमा अतिथि सम्पादक रहेका ७८ वर्षका गुभाजू बौद्ध धर्म दर्शनका अध्येतासमेत हुन्। उनी गत वर्ष पोखरेली नवरत्नबाट सम्मानित भएका थिए। तनहुँमा रहेर पाँच दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारीको सम्पादनमा २०३९ सालदेखि ‘भञ्ज्याङ’ पत्रिका निरन्तर प्रकाशित हुँदै आएको छ।

‘सीमामा उभिएको पत्रकार’को रूपमा परिचित ६९ वर्षका रौनियार तीन दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गरिरहेका छन्। हाल उनी एभिन्युज टेलिभिजनमा आबद्ध छन्। पर्वतकी ५८ वर्षकी जिज्ञासु पत्रकारिताको अलावा अभियन्ता एवं साहित्यकारसमेत हुन्। उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजपर्यन्त साहित्यिक पत्रिका प्रकाशन हुँदै आएको छ।

अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा पाँचसदस्यीय छनोट समिति गठन गरिएको थियो। कार्यक्रममा मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआई विषयमा छलफलसमेत गरिएको थियो।
 

सुझावित समाचार