४८७ किलो गाँजासहित महोत्तरीबाट दुईजना पक्राउ

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

महोत्तरीको एकडारा गाउँपालिका– १, भटौलियाबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ। चार सय ८७ किलो १०५ ग्राम गाँजासहित प्रहरीले ट्रकचालक मकवानपुरको कैलाश गाउँपालिका– ६, भकुण्डेका २१ वर्षीय बिपस नेगी र कैलाश–१, क्युरेनीका २४ वर्षीय साधुराम थिङलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरको टोलीले शनिबार राति १ बजेतिर भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उनीहरूलाई प्लास्टिकले बेरिएको तीन पोका (४० किलो ३६० ग्राम) गाँजासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले प्रहरीसमक्ष धनकुटाको भेडेटरदेखि महोत्तरीमा ३५ वटा प्लास्टिकमा पोका पारेको गाँजा अन्जान मानिसलाई बुझाई फर्किने क्रममा पक्राउ परेको बयान दिए थिए। बयानका आधारमा सर्च अपरेसन चलाएको प्रहरीले महोत्तरी गाउँपालिका– ४, रानी रतवडास्थित मनसिफ पासवानका छोरा करिब ४५ वर्षीय सियाशरण पासवानको घरमा खानतलासी गर्दा ३५ वटा पोकामा लुकाएको चार सय ४६.७४५ किलो गाँजा फेला पारेको हाे।

हाल कतारमा रहेका सियाशरणको घरमा खानतलासीका लागि प्रहरी पुग्दा उनकी श्रीमती लिलम देवी फरार भएको बताइएको छ।

सुझावित समाचार