कास्कीको पोखरामा रहेको पोखरा फाइनान्स लिमिटेड र मकवानपुरको हेटौँडामा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको मर्जर प्रक्रिया सकिएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त पोखरा महानगरपालिका– ९, न्युरोडमा रजिस्टर्ड कार्यालय रहेको पोखरा र मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ हेटौँडामा रजिस्टर्ड कार्यालय रहेको समृद्धि एकआपसमा गाभिए (मर्जर)पश्चात् २६ असारदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार आरम्भ हुने भएको पोखराका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिए।
मर्जरपछि बन्ने फाइनान्सको केन्द्रीय कार्यालय साबिकको समृद्धि फाइनान्स रहेको काठमाडौं महानगरपालिका– २८, पुतलीसडकमा रहनेछ। यसअघि साउन ०८२ मा मर्जरसम्बन्धी समझदारी पत्रमा दुई फाइनान्सले हस्ताक्षर गरेका थिए। पोखराका तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङ र समृद्धिका तर्फबाट मर्जर समितिका संयोजक सुदीप घिमिरेले हस्ताक्षर गरेका थिए।
सम्झौतापछि दुबै फाइनान्सले १४ माघ ०८२ मा आ–आफ्नो वार्षिक साधारणसभाबाट एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धमा विशेष प्रस्ताव पारित गरेका थिए। दुई फाइनान्सको निर्णयबमोजिम नेपाल राष्ट्र बैंकको २९ वैशाख ०८३, कम्पनी रजिस्टार कार्यालयको ७ जेठ ०८३ र नेपाल धितोपत्र बोर्डको ३ असार ०८३ को पत्रबाट गाभ्ने-गाभिने (मर्जर) सन्दर्भमा समृद्धिको अन्तिम दिनसम्म कायम रहेको ऋण, धन, दायित्व तथा अन्य सम्भावित दायित्वहरू गाभ्ने संस्था पोखराले सम्पूर्ण व्यहोर्ने-सकार्ने गरी गाभ्न-गाभिन (मर्जर)का लागि स्वीकृति प्राप्त भएसँगै दुवै संस्थाहरू एकआपसमा गाभिएर ‘ग’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्थाको रूपमा पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको पोखराका सिइओ गुरुङले जानकारी दिए।
एकीकृत कारोबार सुरु गर्नुअघि डाटा माइग्रेसनलगायतको प्रयोजनका लागि २५ असारमा एक दिनका लागि दुवै फाइनान्सको वित्तीय सेवाहरू बन्द रहनेछन्। हाल २५ शाखा संजाल रहेको पोखराको चुक्ता पुँजी एक अर्ब आठ करोड २५ लाख र १४ शाखा संजाल रहेको समृद्धिको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ।
एक सेयरबराबर एकको स्वाप रेसियोमा दुई फाइनान्स मर्ज भएका हुन्। मर्जरपछि बन्ने सञ्चालक समिति अध्यक्षसहित सात सदस्य रहनेछन्। सञ्चालक समितिको अध्यक्षमा समृद्धिका अजय मिश्रसँगै तीन सञ्चालक रहँदा पोखराका तर्फबाट तीन सञ्चालक रहनेछन्। मर्जपछि बन्ने फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पोखराका प्रकाश गुरुङ रहनेछन्।