मुख्यमन्त्रीको प्रतिबद्धतापछि लुम्बिनी प्रदेश सभा बैठक सुरु

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

मुख्यमन्त्री चेतनारायण आचार्यको  सम्बोधनपछि लुम्बिनी प्रदेश सभाको अवरोध  हटेको छ। प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा असहमति राख्दै अवरोध हुँदै आएको बैठक मुख्यमन्त्रीको सम्बोधनपछि हटेको हो।

बजेटमा असहमति राख्दै सत्तापक्षका केही सांसदसहित विपक्षी दलका सांसदहरूले पटक-पटक बैठक अवरोध गर्दै आएका थिए। आइतबार पनि अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सञ्चालनमा आएको हो।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बजेट विनियोजनका क्रममा छुटेका तथा अपुग भएका योजनालाई विभिन्न माध्यमबाट सम्बोधन गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। महत्त्वपूर्ण आयोजनामा आवश्यक बजेट थप गर्ने, क्रमागत योजनामा रकमान्तरमार्फत स्रोत व्यवस्थापन गर्ने तथा आवश्यक आयोजनालाई बहुवर्षीय योजनामा समावेश गरेर कार्यान्वयन गरिने उनले बताए।

‘जुन महत्त्वपूर्ण आयोजनाहरूमा बजेटको कमी भएको छ, ती आयोजनाहरूलाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने कुरामा म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। जहाँ निर्वाचन क्षेत्रमा अग्लो, होचो हुन पुगेको छ, त्यो ठाउँलाई पनि विभिन्न माध्यमबाट क्षतिपूर्ति गर्न हामी सक्छौँ,’ उनले भने, ‘अन्य प्रदेशहरूमा पनि त्यसैगरी अगाडि बढेको अवस्था छ। कतिपय क्रमागत योजनाहरूलाई रकमान्तरण गरेर हामी परिपूर्ति गर्न सक्छौँ। कतिपय आयोजनाहरू बहुवर्षीयमा लगेर सम्बोधन गर्न सक्छौँ। यहाँहरूले जाहेर गरेको चिन्ता र चासो सबैको साझा विषय हो। यसमा सरकार नजरअन्दाज गरेर अगाडि बढ्ने पक्षमा छैन।’

मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पताल तथा प्रदेश गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। प्राविधिक विश्वविद्यालय स्थापनाका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी दिँदै उनले लुम्बिनी प्रादेशिक अस्पतालका लागि दुई अर्ब रुपैयाँ बजेट छुट्याइएको बताए।

रामपुर–कपुरकोट सडक आयोजनाको काम बहुवर्षीय ठेक्कामार्फत अघि बढिरहेको उल्लेख गर्दै उनले बाँकी खण्डको कामलाई पनि सरकारले निरन्तरता दिएको बताए।

सुझावित समाचार