प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको उद्देश्य छैन : सञ्चारमन्त्री तिमिल्सिना

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन्। उनले लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताको संरक्षणप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने उल्लेख गरे।

उनले सरकारले संवैधानिक हक–अधिकारको सम्मान गर्दै आएको बताउँदै कुनै अधिकारको कार्यान्वयनमा अवरोध भएको महसुस भए त्यसका लागि देशभित्रै संवैधानिक तथा कानुनी संयन्त्र उपलब्ध रहेको धारणा राखे।

सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रसँग सम्बन्धित कुनै पनि विषयमा संवाद आवश्यक परे सरकार पत्रकारसँग छलफल गर्न तयार रहेको पनि बताए।

उनले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै जिम्मेवार र उत्तरदायी पत्रकारिताको आवश्यकता औँल्याए।

सुझावित समाचार