बागमतीको बजेटमा सत्तापक्ष र विपक्षी दुवैको विरोध, संसदबाट बहुमतले पारित

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण
बागमतीको बजेटमा सत्तापक्ष र विपक्षी दुवैको विरोध, संसदबाट बहुमतले पारित

शनिबारको संसद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पास गर्दै बागमती प्रदेश सभा

  • आगामी वर्ष ६६.९३ अर्बको बजेट कार्यान्वयन गर्दै बागमती प्रदेश
  • सत्तारूढ कांग्रेस सांसद र विपक्षी दलको पहुँच र प्रभावका आधारमा बजेट वितरण गरिएको आरोप

कांग्रेसभित्रको आन्तरिक विवाद र विपक्षी दलको विरोधका बिच बागमती प्रदेश सरकारको बजेट पारित भएको छ । शनिबार बसेको बागमती प्रदेश सभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट बहुमतबाट पारित भएको हो । बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई प्रदेश सञ्चित कोषबाट खर्च गर्ने कानुनी बाटो खुलेको छ ।

प्रदेश सभामा मन्त्री तामाङले प्रदेश सरकारका सेवा, कार्यक्रम तथा विकास आयोजनाका लागि विनियोजन गरिएको बजेट स्वीकृत गरियोस् तथा अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उपसभामुख अप्सरा चापागाईंले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सत्तारूढ दलका सांसदहरूले पक्षमा मत दिएका थिए भने प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मतदान गरेका थिए । बहुमतले समर्थन गरेपछि उपसभामुख चापागाईंले विनियोजन विधेयक र आर्थिक विधेयक पारित भएको घोषणा गरेकी थिइन् ।

बजेटमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले विभिन्न मन्त्रालयको बजेट कटौती गर्न माग गर्दै खर्च कटौतीका प्रस्ताव दर्ता गरेका थिए । प्रदेश सभा सदस्य ईश्वर सापकोटा, सिर्जना सायजु र रत्नप्रसाद ढकालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटमा खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए ।

बजेटलाई लिएर कांग्रेसभित्रै थियो विवाद

मुख्यमन्त्री इन्द्र बानियाँ

सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रको आन्तरिक विवादबिच बजेट पारित भएको हो । बजेट पारित प्रक्रियामा कांग्रेसभित्र देखिएको आन्तरिक विवादको छाया पर्न सक्ने सुरुबाटै चर्चामा थियो । कांग्रेसका बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहबिचको राजनीतिक मतभेदका कारण केही दिन प्रदेश सभा बैठकमा कांग्रेसकै केही सांसदसमेत अनुपस्थित भएका थिए । लामा पक्षले बजेट वितरण र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको थियो ।

शनिबार पनि लामा समूहका सांसदहरू बजेट पारित गर्नुभन्दा केही समयअघि मात्रै प्रदेश सभा बैठकमा प्रवेश गरेका थिए । त्यसअघि शनिबार बिहान पार्टीका महामन्त्री गुरुराज घिमिरेको उपस्थितिमा कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकबाट असन्तुष्ट पक्षलाई मिलाएर लाने प्रयोजनसहित बैठक डाकिएको थियो । तर, पार्टीका सहमहामन्त्रीसमेत रहेका स्वयं लामा र उनी पक्षीय केही सांसदहरू भने बैठकमै सहभागी भएनन् । संसदीय दलको बैठकमा महामन्त्री घिमिरेले नमिलेका राजनीतिक विषयहरू बजेटपछि छलफल गरेर अघि बढ्न निर्देशन दिएपछि पार्टीले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । 

See More On

सुझावित समाचार