जालपादेवी केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

कैलालीको मोहन्याल गाउँपालिका– ७, राजकाँडामा नवनिर्मित जालपादेवी मन्दिर केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माण हुने भौतिक संरचनाहरू पनि द्रुत गतिमा निर्माण भइरहेको जालपादेवी केबलकार प्रालिले जनाएको छ ।

आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन केबलकार परियोजनालाई आगामी दुई महिनाभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विभिन्न चरणमा गरी कुल लगानी करिब ६ अर्ब रुपैयाँ अनुमान गरिएको यस परियोजनाको पोल ठड्याउने, बटम तथा टप स्टेसन निर्माणलगायतका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ ।

यसलगत्तै मुख्य प्राविधिक प्रक्रियाअन्तर्गत तार तान्ने र गोन्डोलाहरू जडान गर्ने कार्य अघि बढ्नेछ । कैलालीको लम्कीचुहा नगरपालिका– ३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका– ७, राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकार परियोजनाको तल्लो (बटम) स्टेसनमा पाँचतारे होटेल, क्यासिनो र ब्यांक्वेट हललगायत अन्य संरचनाहरू निर्माण भइरहेका छन् ।

त्यस्तै, माथिल्लो (टप) स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल (पदमार्ग), रेस्टुरेन्ट तथा बाल उद्यानलगायतका पर्यटकीय पूर्वाधार विकास भइरहेका छन् । 

सुझावित समाचार