वर्षाले रोपाइँलाई साथ, अर्को साता पनि अनुकूल मौसम

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

देशभर मनसुन सक्रिय भएसँगै धान रोपाइँले गति लिएको छ। यो साताभर अधिकांश क्षेत्रमा पर्याप्त वर्षा भएपछि किसान खेतमा व्यस्त भएका छन् भने आगामी सातासमेत मनसुनी गतिविधि कायम रहने पूर्वानुमानले रोपाइँलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी गरेको १९–२५ असारको कृषि–मौसम सल्लाह बुलेटिनअनुसार आगामी साताभर देशभर मनसुनी वायुको सामान्य प्रभाव रहनेछ। पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मध्यम वर्षा हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

गत साता पनि देशभर मनसुन सक्रिय रहँदा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। सबैभन्दा बढी संखुवासभाको नुम केन्द्रमा ३२४.५ मिलिमिटर वर्षा मापन गरिएको छ।

यस वर्ष मनसुन औसतभन्दा ६ दिन ढिलो ५ असारमा नेपाल प्रवेश गरेको भए पनि १६ असारसम्म देशभर फैलिसकेको छ। त्यसयता परेको वर्षाले धान रोपाइँका लागि आवश्यक चिस्यान उपलब्ध गराएको भन्दै कृषिविज्ञहरूले अहिलेको मौसमलाई रोपाइँका लागि अनुकूल मानेका छन्।

नार्कले २१ देखि २५ दिन उमेर पुगेका धानका बिरुवा दुई–दुईवटा राखेर २० सेन्टिमिटर×१५ सेन्टिमिटरको दूरीमा रोप्न सल्लाह दिएको छ। बिउ राख्नुअघि कार्बेन्डाजिमयुक्त विषादीले उपचार गर्न र रोपाइँपछि पाँच दिनभित्र झारपात नियन्त्रणका लागि प्रेटिलाक्लोर प्रयोग गर्न पनि सुझाव दिइएको छ।

यद्यपि, लगातार वर्षासँगै केही जोखिम पनि बढ्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा मकैबाली, तरकारी, फलफूल बगैँचा तथा प्लास्टिक घरवरिपरि पानी जम्न नदिई उचित निकासको व्यवस्था गर्नुपर्ने बुलेटिनमा उल्लेख छ।

वर्षातका कारण पशुपालन र मत्स्यपालनमा पनि असर पर्न सक्ने भएकाले पशुचौपायालाई हिलो र ओसिलोबाट जोगाउन, कुखुरा फार्ममा बर्ड फ्लु रोकथामका लागि जैविक सुरक्षा अपनाउन तथा माछापोखरीबाट माछा बग्न नदिन निकासमा जाली लगाउन पनि नार्कले किसानलाई आग्रह गरेको छ।

कृषिविज्ञहरूका अनुसार आगामी साताभर पनि वर्षा कायम रहने भएकाले अझै रोपाइँ बाँकी रहेका अधिकांश जिल्लामा धान रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ। यद्यपि, भारी वर्षा हुने क्षेत्रका किसानले खेतको पानी व्यवस्थापन र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको छ।

सुझावित समाचार