कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हालसम्म भएका उपलब्धिहरु सार्वजनिक गरेकी छिन्। गत चैत १३ गते कार्यभार सम्हालेकी मन्त्री गौतमले आज शुक्रबार सयदिने उपलब्धि सार्वजनिक गरेकी हुन्।
मन्त्रालयका कामकारबाहीलाई शीघ्र, प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन ‘फास्ट ट्रयाक डेस्क’ स्थापना, नीति, कानुन तथा प्रशासनिक सुधारसम्बन्धी सुझाव र प्रतिक्रिया संकलनका लागि विशेष डिजिटल पोर्टल निर्माणलगायतका विषय कार्यविवरणमा उल्लेख छ।
यसैगरी, मन्त्रालयले नागरिकलाई कानुन निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन ‘मेक योर वन ल’ डिजिटल पोर्टल सञ्चालन गरेको, कानुनसम्बन्धी जानकारी सर्वसाधारणका लागि सरल र सहज बनाउन ‘ल अफ द विक’ शृंखला सुरु गरिएको, संघ, प्रदेश तथा स्थानीय तहबाट बनेका सबै कानुन अद्यावधिक गरी एकीकृत रूपमा विद्युतीय माध्यमबाट उपलब्ध गराउन ‘नेपाल ल इन्फरमेसन सिस्टम’ विकास गर्ने काम भइरहेको छ।
नेपाल कानुन आयोगको पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवदेन तयार गरिएको, अध्ययन प्रतिवेदनका आधारमा नेपाल कानुन आयोगलाई सेन्टर अफ एक्सिलेन्स फर लेजिस्लेटिब ड्राफ्टिङ एन्ड लिगल रिसर्चको रूपमा विकास गर्न नेपाल कानुन आयोग ऐन, २०६३ लाई परिमार्जन गर्न प्रारम्भिक मस्यौदा तयार भएको मन्त्री गौतमको उपलब्धिमा समेटिएको छ।
हेर्नुहोस् पूर्णपाठ: