काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा फोहाेर व्यवस्थापन केन्द्रमा पुग्ने फोहाेरको मात्रा घटाउने र दीर्घकालीन रूपमा केन्द्रको उपयोग अवधि बढाउने उद्देश्यले १० वटा वडामा स्रोतमै फोहाेर वर्गीकरण प्रणाली कार्यान्वयनमा ल्याएको छ।
महानगरको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार फोहाेर उत्पन्न हुने स्थानमै जैविक र अजैविक फोहाेर छुट्याएर व्यवस्थापन गर्न थालेपछि अन्तिम विसर्जनस्थलमा पुग्ने फोहाेरको परिमाण उल्लेखनीय रूपमा घट्न थालेको छ। उनका अनुसार यसले बन्चरेडाँडा फोहाेर व्यवस्थापन केन्द्रको दीर्घकालीन उपयोगमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हाल महानगरपालिका– १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ नम्बर वडामा स्रोतमै फोहाेर वर्गीकरण प्रणाली लागू गरिएको छ। विभागका अनुसार प्रणाली लागू भएपछि बँचरेडाँडामा दैनिक पठाइने फोहाेर २० ट्रकबाट घटेर १५ ट्रकमा सीमित भएको छ।
महानगरका सात व्यवस्थापन क्षेत्रबाट दैनिक संकलन हुने वर्गीकृत फोहाेरको व्यवस्थापन सुरु भएसँगै करिब ३.१९ मेट्रिक टन फोहाेर अन्तिम विसर्जनस्थलमा जानबाट रोकिएको विभागले जनाएको छ। राईका अनुसार स्रोतमै वर्गीकरणले ढुवानी व्यवस्थापनलाई थप सहज बनाउनुका साथै अन्तिम व्यवस्थापनका लागि पठाइने फोहाेरको मात्रा घटाउन पनि मद्दत पुगेको छ।
महानगरपालिकाले घरधुरीबाट निस्कने पुनः प्रयोगयोग्य सुक्खा फोहाेरलाई वैज्ञानिक ढंगले व्यवस्थापन तथा बिक्री गर्ने उद्देश्यले सात व्यवस्थापन क्षेत्रमा छुट्टै प्रणाली सञ्चालन गरिरहेको जनाएको छ।
फोहाेरको मात्रा न्यूनीकरण, पुनः प्रयोग प्रवर्द्धन तथा क्षेत्रगत आधारमा व्यवस्थित विसर्जन सुनिश्चित गर्न महानगरले फोहाेरमैला संकलन तथा ढुवानीसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याएको छ। उक्त कार्यविधिअनुसार सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रबाट सेवा खरिद तथा आय ठेक्का प्रणालीमार्फत समुदायस्तरमा फोहाेर संकलन र ढुवानीको व्यवस्था अघि बढाइएको महानगरपालिकाले जनाएको छ।