रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका सुनका सिक्री लुटपाट (स्न्याचिङ) घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाबाट लुटिएका सुनका सिक्री तथा एक मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
गैडहवामा सिक्री लुट्ने एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द्रका अनुसार गत असार १७ गते रुपन्देहीको गैडहवा गाउँपालिका– ६ स्थित सूर्यपुरा हाटबजारमा भिडभाडको मौका छोपी एक व्यक्तिको घाँटीमा लगाएको गणेश भगवानको लकेटसहितको सुनको सिक्री लुटिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा २५ वर्षीय विकास रायलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी पठाएको जनाएको छ।
प्रहरीले उनको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको सुनको सिक्री एक थान बरामद गरेको छ ।
तिलोत्तमाको घटनामा चारजना पक्राउ
त्यस्तै, असार १० गते तिलोत्तमा नगरपालिका– ४, ड्राइभरटोलस्थित चाँदनीमार्गमा बाटोमा हिँडिरहेका व्यक्तिबाट मोटरसाइकलमा आएका अपरिचित समूहले सुनको सिक्री लुटेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय राहुल जयसवाल, २२ वर्षीय प्रिन्स जयसवाल, ३० वर्षीय नितेशकुमार गुप्ता र ३२ वर्षीय प्रदीप कान्दु रहेका छन् । यी चारजनामध्ये प्रदीपबाहेक तीनजना भारतीय रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबाट प्रहरीले दुई थान सुनका सिक्री र लु.६५ प २९३१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । बरामद सिक्रीमध्ये एकको तौल २.९९ लाल ७ पोइन्ट र अर्कोको ९० लाल ७ पोइन्ट रहेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धान गरिरहेको छ।