म्याच प्रिभ्यु : केप भार्डेसँग साबिक विजेता अर्जेन्टिना सतर्क

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

विश्वकपको पहिलो सहभागितामै अफ्रिकी राष्ट्र केप भार्डेले सनसनी प्रदर्शन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । स्पेनलाई पहिलो खेलमै गोलरहित बराबरीमा रोकेर भार्डेले आफू विश्वकपमा सहभागी मात्र हुन नआएको सन्देश दिएको थियो । स्पेनविरुद्ध गोलरक्षक भोजिन्हाले करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले एक दर्जनभन्दा बढी स्पेनका गोल प्रयास रोकेका थिए । भार्डे र भोजिन्हाको प्रदर्शनले विश्व नै चकित पार्यो ।

विपक्षीलाई कुनै पनि हालतमा गोल गर्न नदिने भार्डेले अब अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । भार्डे समूह चरणको प्रदर्शन अर्जेन्टिनाविरुद्ध दोहोर्याउने योजनाका साथ मैदानमा उत्रँदै छ । अर्जेन्टिना पनि विपक्षीको रणनीति र क्षमताबारे राम्रोसँग परिचित छ । एउटा सानो गल्तीले पनि बाहिरिन सक्ने अर्जेन्टिनी खेलाडीलाई थाहा छ ।

भार्डे डिफेन्समा मात्र बलियो छैन । उनीहरू काउन्टर एट्याक्टमा पनि उत्तिकै बलिया छन् । उरुग्वेसँग पछाडि परेको अवस्थामा दुई गोल गरी बराबरी नतिजा निकालेको थियो । यसबाट प्रस्ट छ– भार्डेका खेलाडी काउन्टरमा गोल पनि गर्न सक्छन् । अर्जेन्टिनाले भार्डेका खेलाडीलाई डिबक्सभित्र खुला राख्दा ठुलै जोखिमको सामना गर्नुपर्ने हुन्छ । यसकारण अर्जेन्टिनाले नकआउट चरणमा निकै सतर्क भएर प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । विश्वकपअगाडि भार्डेलाई औसत टोलीका रूपमा लिइएको थियो । अहिलेको अवस्थामा उनीहरूलाई स्तब्ध नतिजा निकाल्न सक्ने टोलीका रूपमा हेरिएको छ ।

फिफा वरीयतामा भार्डे ६६ स्थान तल
अमेरिकाको मियामीस्थित हार्ड रक मैदानमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना वरीयतामा आफूभन्दा ६६ स्थान तल रहेको टोलीविरुद्ध प्राविधिक रूपमा दबाबमा राख्ने योजनामा छ । अर्जेन्टिनाको मुख्य खेलाडी नै मेसी नै हुन् । 

अर्जेन्टिनाले जित हात पारेको खेलमा मेसीले निर्णायक तथा सर्वाधिक गोल गरेका छन् । मेसीले चालू विश्वकपमै सर्वाधिक १९ गोल गरेको रेकर्ड राखेका छन् । उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानी भंग गरेका हुन् । प्रशिक्षक लियोनल स्कोलानी मेसीसँगै प्लेइङ ११ मा जोर्डनविरुद्ध विश्राम दिएका एन्जो फर्नान्डेज, रोड्रिगो डी पाउल, फाकुन्डो मेडिना, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, एलेक्सेस म्याक एलिस्टरलाई सुरुमै खेलाउनेछन् ।

प्लेयर्स टु वाच

लियोनल मेसी (अर्जेन्टिना)
साबिक विजेता अर्जेन्टिनाले पहिलोपटक सहभागी केप भार्डेविरुद्ध प्रिक्वार्टरफाइनलमा प्रतिस्पर्धा गरिरहँदा कप्तान मेसीमाथि मुख्य नजर हुनेछ । समूह चरणमा भार्डेले तीनवटै खेलमा बराबरी खेल्दै दोस्रो स्थानमा रही नकआउट चरणमा स्थान बनाएको हो । उनीहरूको प्रमुख विशेषता बलियो डिफेन्स रह्यो । विपक्षीले भार्डेको पोस्टमा गोल गर्न हम्मेहम्मे परेको देखिन्छ । मेसी पनि सहभागी टोलीमध्ये भार्डेको जबर्जस्त बलियो डिफेन्स लाइन तोड्ने योजनामा छन् । लगातार सात खेलमा सातै गोल गरी कीर्तिमानी बनाएका मेसी उत्कृष्ट फर्ममा छन् । उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए । चालू विश्वकपमा उनले ६ गोल गरेका छन् । मेसीको विशेषता आवश्यकताअनुसार गोल गर्नुका साथै सहकर्मीलाई असिस्ट गर्ने हो । डिबक्सभित्र र बाहिर उनी प्लेमेकरको भूमिकमा सफल देखिएका छन् । उनीसँग खेल अवस्था बुझेर विपक्षीलाई दबाबमा राख्ने रणनीति छ ।

भोजिन्हा (केप भार्डे)
चालू विश्वकपमा चर्चा कमाएका गोलरक्षकमध्ये एक हुन् भोजिन्हा । पूर्वविजेता स्पेनलाई समूह चरणको प्रतिस्पर्धामा गोलरहित बराबरीमा रोक्दा गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलोपटक सहभागीमै भार्डेको नकआउट चरण स्थान पक्का गर्न भोजिन्हाको भूमिका धेरै छ । ४० वर्षीय भोजिन्हाले समूह ‘एच’का दुई खेलमा ‘क्लिन सिट’ राखेका थिए । उनीसमक्ष अब साबिक विजेताका अनुभवी खेलाडीलाई गोल गर्न रोक्ने जिम्मेवारी छ । उनले अब अहिलेसम्मकै ठुलो चुनौती सामना गर्नुपर्ने हुन्छ । विश्व च्याम्पियन अर्जेन्टिनासँग उत्कृष्ट तानमेलमा गोल गर्न सक्ने खेलाडी प्रशस्तै छन् । यस्तोमा भोजिन्हाले उनीहरूलाई कसरी रोक्छन् भन्ने हो । पछिल्ला प्रदर्शनका आधारमा उनी यसका लागि तयार देखिन्छन् । ४० वर्षको उमेरमा पनि सानदार प्रदर्शन गरिरहेको भोजिन्हा पनि मेसीलाई रोक्न आतुर छन् । 

सुझावित समाचार