राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहता र नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ दुवैले आगामी एसियाडमा नेपाली खेलाडीहरूले विनादबाब खेल्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा आयोजना गरेको संवाद कार्यक्रम ‘नेपाल इन एसियन गेम रोड टु आइची नागोया’ संवाद कार्यक्रममा दुवैले संयुक्त रूपमा विनाविवाद सहभागिताका लागि सहज पहल भइरहेको बताएका हुन्।
सदस्यसचिव मेहताले भने, ‘केही विवादहरू छन्। तर, त्यसलाई हामीले बोरामा सिलाएर राखेका छौँ। अब एसियाली खेलकुदको सहभागितामा कुनै विवाद हुँदैन। उनीहरू अब चाँडै नै वैदेशिक प्रशिक्षणमा जानेछन्। पदकमा मात्र केन्द्रित हुनेछन्।’
विगतमा राखेप र एनओसीबिचकाे विवादले ठुला प्रतियोगिता प्रभावित हुन्थे र खेलाडीहरू कमजोर मानसिकतामा ती प्रतियोगिता खेल्ने गर्दथे । यसपालि त्यस्तो वातावरण पूर्ण रूपमा हटेको दुई मुख्य निकाय प्रमुखले घोषणा गरेको एसियाड इतिहासमा यो पहिलोपटक हो।
संवाद कार्यक्रममा सदस्यसचिव मेहता र अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको दीर्घकालीन समाधानमा लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को संशोधन आवश्यक रहेको पनि बताएका छन्। सदस्यसचिव मेहताले चाँडै नै ऐन संशोधनको प्रक्रिया अगाडि बढ्ने पनि बताए।
उनले भने, ‘समस्या छ। त्यसको समाधानका लागि ऐन संशोधन वा नयाँ ऐन बनाउनैपर्छ। त्यसको तयारी भइरहेको छ।’
त्यस्तै, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले ऐन मात्र नभई नियमावली पनि संशोधन आवश्यक रहेको बताए। उनले भने, ‘यहाँ व्यक्तिको स्वार्थअनुसार नियमावली परिवर्तन हुने गर्दछ। त्यसमा विशेष ध्यान दिनु जरुरी छ।’

स्वर्णसहित दोहोरो पदकको आशा
सदस्यसचिव मेहताले एसियाली खेलकुदमा नेपालले यो वर्ष २३ खेलमा १४० जनाले सहभागिता जनाउन लागेको पनि जानकारी दिए। त्यस्तै, सरकारले एसियाली खेलकुद तयारीका लागि दुई करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको र सहभागिताका लागि थप ११ करोड २० लाख रुपैयाँ छुट्याएको पनि बताए।
एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहरो अंकमा पदक जित्ने सरकारको लक्ष्य पूरा गर्न आफूहरू लागिपरेको र अब आगामी महिनादेखि खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको बताए।
नेपाली खेलकुदको इतिहासमा पहिलोपटक नागोया एसियाडका लागि झन्डै चार वर्षअगाडि नै नागोया ओलम्पिक केन्द्रित रहेर राखेपले मिसन २०२६ योजना सुरु गरेको थियो। त्यसमा ११ खेलका ९९ खेलाडीहरूले प्रशिक्षण पाइरहेका छन्।
यसैगरी, एनओसीका अध्यक्ष श्रेष्ठले राखेपसँगको समन्वयमा खेलाडीको अन्तिम सूची पठाएअनुरूप नै एसियाडमा खेलाडी दर्ताको काम भइरहेको बताए। उनले भने, ‘एनओसीले पनि आफ्नै ढंगले खेलाडीहरूको तयारीलाई साथ दिइरहेको छ । पदक जित्ने लक्ष्यमा साथ दिन एसियाडकै लागि पाँच खेलका खेलाडीलाई महिनाको ५० हजार रुपैयाँसहित स्कलरसिप प्रदान गरेको छ । र, अन्य आवश्यक सहयोग गरिरहेको छ।’
त्यस्तै, विगतमा जस्तो अनावश्यक व्यक्तिहरूको भिड एसियाडमा नपठाउने, असम्बन्धित व्यक्तिहरू एसियाडमा नदेखिने र सबैको ध्यान खेलाडीको पदकमा केन्द्रित हुने उनीहरूको भनाइ थियो।
संवाद कार्यक्रमअघि होङजाउ एसियाडमा रजत पदक विजेता कराँते खेलाडी एरिकाले गुरुङले एसियाडजस्तो ठुलो प्रतियोगिता खेल्न जाँदा बाहिरी वातावरणले सधैँ निरुत्साहित बनाएको बताइन्।
गत होङजाउ एसियाडमा नेपाललाई एक मात्र रजत पदक दिलाउने एरिकाले आफ्नाे अनुभव सुनाउने क्रममा भनिन्, ‘धेरैले जित्ने भनेको यस्तै हो, एसियन गेममा घुमेर आऊ भनेर प्रतियोगिता पहिले नै खेलाडीको मनोबल कम पारिसकेको हुन्छ । तर, अहिलेको परिस्थिति फरक भएको छ । एसियाडमा रजत पदक जितेर आएपछि नै मिसन २०२६ कार्यक्रमअन्तर्गत राखेपछि अहिले खेलाडीहरूले ३६५ दिननै राम्रो प्रशिक्षण पाएका छन् । त्यसैले म मात्र होइन अन्य खेलाडीले आइची नागोया एसियाडमा अझ राम्रो गर्ने अपेक्षा गरेका छन् ।’
यसैगरी, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले एक सय वर्षअघि एआइपिएसको गठन हुँदाको दिन जुलाई २ लाई नै विश्व खेलकुद पत्रकार दिवसको रूपमा मनाउँदै आएको जानकारी दिए । ‘स्पोर्टस् जनलिस्टहरूको संस्था एआइपिएस गठन गरेको हो । जसको शाखा संसारभरि फैलिएको र नेपालको एनएसजेएफ पनि एनआइपिएसको आधिकारिक संस्था हो,’ उनले भने।
एनएसजेएफका अध्यक्ष अधिकारीले स्पोर्टस् मिडियाको उद्योग अपेक्षाअनुरूप अगाडि बढ्न नसकेको भए पनि विभिन्न चुनौती चिर्दै नेपालको खेल मिडिया अगाडि बढिरहेको बताए।
सो संवाद कार्यक्रमका सहजकर्ता तथा एनआइपिएसका कोषाध्यक्ष निरञ्जन राजवंशीले एसियाडजस्ता प्रमुख प्रतियोगिताअघि आउने विवादलाई घरेलु खेलकुदका ठुला निकायहरुले मिलेर दीघर्कालीन रूपमै सल्टाउनुपर्ने बताए।