एउटै विषयमा पटक–पटक जाहेरी परेको भन्दै अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई थुनामा राख्न अदालतले अस्वीकार गरेको छ। विगतमा अनुसन्धान भएर थप अनुसन्धान गर्नुनपर्ने भनेर निर्णय भइसकेको र थप प्रमाणसमेत नभएको भन्दै अदालतले गत मंगलबार उनलाई रिहा गरेको हो।
बुढानीलकण्ठस्थित टुंगरम इन्टरनेसनल एकेडेमीको विवादमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई १२ असारमा पक्राउ गरेको थियो। विगतमै अनुसन्धान भइसकेको विषय भएको भन्दै अदालतले उनलाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। जिल्ला न्यायाधीश बालकृष्ण वाग्ले इजलासबाट जारी आदेशमा भनिएको छ, ‘प्रतिवादीउपर एउटै विषयमा पटक–पटक उजुरी जाहेरी परी अनुसन्धान भई अनुसन्धानको रोहबाट जाहेरीअनुरूपको कार्य, घटना र परिस्थिति नभएको भन्ने आधारमा थप अनुसन्धान गर्न आवश्यक नभएको भनी निर्णय-निष्कर्ष भइसकेपश्चात् सोही व्यहोराको सन्दर्भमा नयाँ मितिको जाहेरीका आधारमा पुनः प्रतिवादीलाई पक्राउ गरी म्याद थप अनुमतिको लागि उपस्थित गराइएको अवस्था परिस्थितिलाई हेर्दा यी प्रतिवादीलाई प्रस्तुत जाहेरीका रोहमा हिरासतमै राखी मुद्दाको अनुसन्धान नै गर्नुपर्ने अवस्था देखिएन ।’
शेर्पा टुंगरम इन्टरनेसल एकेडेमीका पूर्वसञ्चालक हुन्। विवाद भएपछि उनले संस्था छाडेका थिए। संस्थाको आठ करोड हिनामिना गरेको भनेर जाहेरी परेकोमा सिआइबीले देवानी प्रकृतिको विषय देखिएको भन्दै मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो।
थप प्रमाण नभएपनि सिआइबीले थप उनलाई पक्राउ गरेको थियो।
सो विद्यालयका मुख्य सञ्चालक टुंगरम ल्यालटुङ शेर्पा हुन्। उनले विद्यालयको नाममा हदबन्दीभन्दा जग्गा खरिद गरेको र त्यो गैरकानुनी रूपमा बिक्री गरेको विषयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। छानबिन थालेसँगै उनी विदेश बस्दै आएका छन्। उनका प्रतिनिधि रामचन्द्र श्रेष्ठले दुई वर्षअघि नै कर्माविरुद्ध जाहेरी दिएका हुन्। सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतको आदेशसँगै उनी मंगलबार रिहा भइसकेका छन्।
यस्तो छ आदेश–