धनकुटा नगरपालिका–१, हिलेस्थित बुद्धचोकबाट एक युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका–१ का २९ वर्षीय अनिल घिसिङलाई खैरो हेरोइनसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारीले क्षेत्रीले बताए।
हिलेबजारस्थित बुद्धचोकमा चेकजाँच गर्ने क्रममा घिसिङको साथबाट प्लास्टिकमा प्याक गरेको ६ पोका ब्राउन सुगर (प्लास्टिकबाहेक २५० मिलिग्राम) बरामद गरिएको प्रहरीले जनाएको छ। घिसिङलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आजै जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारी क्षेत्रीले जानकारी दिए।
यसअघि आजै साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट ३७ केजी ६१० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।