सिराहाको लहान नगरपालिका– १७, तरेगाना गोविन्दपुर वडा कार्यालयका सचिवले चालू आर्थिक वर्षको असार मसान्तसम्मको एकैपटक हाजिर गरेको पाइएको छ। लहान– ५ घर रहेका अधिकृत छैटाैँ दर्जाका वडासचिव राजकुमार साहले १७ असार (बुधबार) देखि ३२ असारसम्म १६ दिनमध्ये दुई–दुई शनिबार र आइतबार गरी चार दिनको बिदा कटौती गरी १२ दिनको हाजिर एकैपटक गरेको पाइएको हो ।
कार्यालय पुगेर आफूले हाजिर गरेपछि वडामा कार्यरत अन्य कर्मचारीको पनि हाजिर गराउनुपर्ने कार्यालय प्रमुखले नै एकैपटक हाजिर गर्न मिल्छ भन्ने प्रश्नमा वडासचिव साहले भूलवश झुक्किएर एकैपल्ट हाजिर गरेको स्विकारे । ‘गत जेठमा बुबाको निधन भएपछि केही दिन बिदामा बसेको थिएँ,’ उनले भने, ‘तेह्रौँ दिनको कर्म सिध्याएसँगै बिदा पनि सकेकाले कार्यालय आउँदा सेवाग्राहीको पनि भिडभाड भएकाले झुक्किएर असार मसान्तसम्मको हाजिर गर्न पुगेछु, भूलवश त्यस्तो हुन गएको हो ।’
वडा कार्यालयमा आएका पत्रकारसँग कुराकानी गर्ने क्रममा हाजिरको प्रसंग निस्किँदा एकैपटक हाजिर गरेको थाहा पाएपछि केरमेट नगरेको, तर आफू दैनिक रूपमा समयमै कार्यालय आउने–जाने गरिरहेको उनको दाबी छ । लहान– १५ का वडाध्यक्ष प्रथमलाल चौधरीले बिहान ९ बजे कार्यालयमा हाजिर भइसक्नुपर्ने वडासचिव प्रायः ढिलो आउँदा सेवाग्राहीहरूको भिड हुने गरेको बताए । ‘वडासचिवले असार मसान्तसम्मको हाजिर एकैपटक गरेको वडामै कार्यरत अर्को कर्मचारीबाट थाहा पाएँ,’ उनले भने । महिनाभरिको एकैपटक हाजिर गरेको पाइएपछि हाजिरी रजिस्टर नियन्त्रणमा लिइएको उनले बताए।