सप्तरीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा पाँचजना घाइते

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

सप्तरीको कञ्चनरूप नगरपालिका– ९ स्थित विष्णु मन्दिरनजिक पूर्व–पश्चिम लोकमार्गमा बिहीबार बिहान टिपरले ट्याक्टरलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्। बिहान करिब ६:३० बजे रूपनगरबाट कञ्चनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ त २७६० नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको ना.७ख ६००९ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरचालक कञ्चनरूप नगरपालिका– ११ का ३० वर्षीय श्यामकुमार सदा, १८ वर्षीय धीरजकुमार सदा, ६० वर्षीय महमद रहमान, ५५ वर्षीया नाजो खातुन र ३२ वर्षीया सवनम खातुन घाइते भएका छन्। घाइतेमध्ये महमद रहमान, नाजो खातुन, श्यामकुमार सदा र सवनम खातुनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ। धीरजकुमार सदाको भने धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर, टिपर तथा टिपरचालक उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ का अन्दाजी २८ वर्षीय प्रदीप विश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार