गाली बेइज्जतीसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। प्रहरीले जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट भएको फैसला कार्यान्वयनका लागि भण्डारीलाई भीमदत्त नगरपालिका– १८ स्थित पुष्पलालचोकबाट पक्राउ गरेको जनाएको छ।
जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई एक महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलाउपर पुनरावेदनपछि उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले थप सात दिन कैद तथा दुई हजार एक सय रुपैयाँ अतिरिक्त जरिवाना गर्ने फैसला गरेको थियो।
अदालतले निवेदक किरण विष्टलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत भण्डारीलाई आदेश दिएको थियो।प्रहरीले पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको जनाएको छ।