कति समय बिताइन्छ सामाजिक सञ्जालमा ?

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण
  • सक्रिय प्रयोगकर्ताले सामाजिक सञ्जालमा प्रतिसाता १८ घण्टा ३६ मिनेट वा हरेक दिन लगभग दुई घण्टा ३९ मिनेट बिताउँछ

हरेक वर्षझैँ यस वर्ष पनि ३० जुनमा विश्वभरका मानिसले सामाजिक सञ्जाल दिवस मनाए । डिजिटल–मिडिया वेबसाइट म्यासेबलले २०१० मा विश्वव्यापी सञ्चारमा सामाजिक सञ्जालको बढ्दो भूमिकालाई मान्यता दिन थालेपछि दिवस मनाउन सुरु गरिएको थियो । अहिले १६ वर्षपछि सामाजिक सञ्जाल अब कुराकानीको ठाउँ मात्र रहेन ।

यो विश्वको दुईतिहाइभन्दा बढी जनसंख्याको दैनिक जीवनको आधारभूत पाटो बनेको छ । ‘डाटा रिपोर्टल डिजिटल २०२६ को ग्लोबल ओभर भ्यू रिपोर्ट’अनुसार अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या ५.६६ अर्ब पुगेको छ । यस हिसाबले यो संख्या विश्वको जनसंख्याको ६८ प्रतिशतभन्दा बढी हो । सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या २००५ मा ५० करोडभन्दा कमबाट २०१५ मा २.२७ अर्ब र २०२५ मा ५.६६ अर्ब पुगेको छ, जुन मुख्यतया किफायती स्मार्टफोनको प्रसार र इन्टरनेट पहुँच विस्तारको कारणले सम्भव भएको हो ।

सामाजिक सञ्जालमा हामी औसतमा कति समय बिताउँछौँ ? सामान्यतया आवश्यकता र फुर्सदअनुसार मानिस सामाजिक सञ्जालमा बिताउने गरिन्छ । तर, कतिपय अवस्थामा सामाजिक सञ्जालमा देखिएका सामग्रीका कारण उसले लामो समय बिताएको पनि भेउ पाउँदैन । डाटा रिपोर्टलका अनुसार औसत सक्रिय प्रयोगकर्ताले सामाजिक सञ्जालमा प्रतिसाता १८ घण्टा ३६ मिनेट वा हरेक दिन लगभग दुई घण्टा ३९ मिनेट बिताउँछ । तर, वार्षिक रूपमा भने यी प्लाटफर्ममा बिताउने समय ४० दिनभन्दा बढी थपिने अध्ययनको दाबी छ ।

कुन क्षेत्रमा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता : सामाजिक सञ्जालको प्रयोग विश्वव्यापी रूपमा गरिन्छ । विशेषगरी एसिया, युरोप र उत्तरी अमेरिकामा यस्ता प्रयोगकर्ताको दर सामान्यतया उच्च छ । कुल जनसंख्याको तुलनामा पूर्वी एसियामा सामाजिक सञ्जाल प्रयोगको अनुपात ८८.१ प्रतिशतले उच्च छ ।

त्यसपछि उत्तरी युरोपमा ७९ प्रतिशत, पश्चिमी युरोपमा ७७.७ प्रतिशत र उत्तरी अमेरिकामा ७४ प्रतिशत छ । यसविपरीत मध्य अफ्रिकामा सबैभन्दा कम अर्थात् १२.१ प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । त्यसपछि पूर्वी अफ्रिकामा १२.६ प्रतिशत र पश्चिम अफ्रिकामा १९ प्रतिशत छ ।

विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक प्लाटफर्म : केपियोस नामक संस्थाको सहकार्यमा स्टेटिस्टाको तथ्यांकले मासिक सक्रिय प्रयोगकर्ताका आधारमा विश्वभर सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल नेटवर्कलाई वर्गीकरण गरेको छ । अक्टोबरसम्म, सबैभन्दा लोकप्रिय प्लाटफर्म यस्ता देखिए :

– ३.०७ अर्ब मासिक सक्रिय प्रयोगकर्तासाथ फेसबुक अन्य प्लाटफर्मभन्दा अगाडि छ । फेसबुकमा उपलब्ध रिल यसको महत्वपूर्ण भिडियो सामग्री हो ।

– इन्स्टाग्राम (२०१२ मा फेसबुकले अधिग्रहण गरेको) र ह्वाट्सएप (२०१४ मा अधिग्रहण गरिएको) प्रत्येकमा तीन अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् ।

– गुगलको स्वामित्वमा रहेको युट्युब २.५८ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् ।

–२०१७ मा अन्तर्राष्ट्रियस्तरमा सुरु भएको टिकटकका अनुमानित प्रयोगकर्ता १.९९ अर्ब छन् । यद्यपि, स्रोतअनुसार अनुमान फरक–फरक हुन सक्छ ।

बालबालिकाका लागि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन बढ्दो आह्वान यी संख्यापछाडि बढ्दो चिन्ताको विषय रहेको छ । युरोपेली संसद्ले युवा प्रयोगकर्ताका लागि अनन्त स्क्रोल र अटोप्लेजस्ता लत डिजाइन सुविधामा प्रतिबन्धकासाथै सामाजिक सञ्जाल पहुँचका लागि न्यूनतम १६ वर्षको उमेरको प्रस्तावलाई समर्थन गरेको छ । सम्पूर्ण युरोपलाई समेट्ने कानुन अझै लागू भएको छैन, तर धेरै सदस्य राष्ट्र स्वतन्त्र रूपमा अगाडि बढेका छन् । यो परिवर्तन आंशिक रूपमा अस्ट्रेलियाले गरेको छ । अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लागू गर्ने विश्वको पहिलो देश बनेको छ । उसले डिसेम्बरमा यस्तो कानुन ल्याएको थियो ।

अन्य राष्ट्रले पनि यसको अनुसरण गरेका छन् । इन्डोनेसियाले मार्चमा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो, जुन यस्तो कदम चाल्ने पहिलो एसियाली देश बनेको थियो । उता ब्राजिलका बालबालिका र किशोरकिशोरीका लागि डिजिटल विधान (जुन सोही महिनादेखि लागू भएको थियो) अनुसार १६ वर्षमुनिका प्रयोगकर्ताले चलाउँदा अभिभावकलाई खाताको लिंक पठाउन आवश्यक छ र अनन्त स्क्रोलजस्ता लत सुविधामाथि प्रतिबन्ध लगाइएको छ । टर्किएले अप्रिलमा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल पहुँच प्रतिबन्धित गर्ने कानुन पारित गरेको छ ।

जुनमा संयुक्त अधिराज्य सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लाटफर्मबाट प्रतिबन्ध लगाउने योजना घोषणा गर्यो । प्रतिबन्ध २०२७ को वसन्तमा लागू हुने अपेक्षा गरिएको छ ।

(मरियम अली पत्रकार हुन् भने अल्काजाज एड्भान्स्ड ओपन–सोर्स इन्टेलिजेन्स (ओएसआइएनटी) का तथ्यांक विज्ञ हुन्)
– अलजजिराबाट

सुझावित समाचार