केन्द्रीय समितिमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउने रास्वपाको तयारी

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण
  • ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ५१% महिला निर्वाचित भइसकेका छन् भने सभापतिले मनोनीत गर्ने ५१ सदस्यमा पनि समावेशी–समानुपातिक चरित्र देखिने गरी महिलालाई प्राथमिकतामा राखिने

नेपाली राजनीतिक इतिहासमै पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिमा जनसंख्याको अनुपातअनुसार महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी गरेको छ । चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएपछि अब सभापतिले मनोनयन गर्ने सदस्यमा पनि यही अनुपात कायम राख्ने प्रयास हुने रास्वपाले जनाएको छ । सभापतिले ५१ केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि भएको निर्वाचनमा ५० जना महिला निर्वाचित भएका छन् । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार नेपाली राजनीतिक इतिहासमा कुनै पनि दलको सर्वोच्च निकाय केन्द्रीय समितिमा निर्वाचनमार्फत ५१ प्रतिशत महिला निर्वाचित भएको यो पहिलो घटना हो । कुल ३७९ जनाले उम्मेदवारी दिएकोमा ४९ जना पुरुष निर्वाचित भएका थिए ।

रास्वपाको विधानमा १५८ सदस्यीय केन्द्रीय समितिमा एकतिहाइ अर्थात् ५३ जना महिला हुनुपर्ने व्यवस्था छ । विधानअनुसार मनोनीत हुने ५१ मध्ये तीनजना महिला ल्याउँदा पनि एकतिहाइ पुग्छ । तर, सभापतिले मनोनीत गर्ने ५१ जनामा पनि महिलालाई प्राथमिकतामा राखेर ५० प्रतिशत पुर्‍याउने प्रयास हुने महामन्त्री विपिन आचार्यले बताए । त्यसबाहेक सात प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । 

‘पार्टीको सर्वोच्च समितिमा निर्वाचनबाट भएको ५१ प्रतिशत महिला प्रतिनिधित्व ऐतिहासिक छ । अब मनोनीत गर्दा पनि अधिकतम ल्याएर ५० प्रतिशत महिला पुर्‍याउने कोसिस रहन्छ । निर्वाचितमा महिला आए भन्दैमा मनोनीत सबै पुरुष हुँदैनन् । सिंगै समितिमा महिलाको जबर्जस्त उपस्थिति अहिलेकै जस्तो अनुपातमा देख्न पाइनेछ,’ महामन्त्री आचार्यले भने, ‘नेतृत्वमा महिलाको सहभागिता बढोस्, अन्य समुदायको पनि उल्लेख्य उपस्थिति होस् भन्ने पार्टीको स्पिरिट हो । सभापतिजीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म मनोनीत गर्दा पनि त्यसलाई सम्बोधन हुने गरी गर्नुहुन्छ ।’

केन्द्रीय सदस्यबाहेक सभापतिले १२ पदाधिकारी पनि मनोनीत गर्ने व्यवस्था छ । पदाधिकारीमा मनोनीत हुने व्यक्ति केन्द्रीय सदस्य हुनुपर्छ । त्यसैले पहिला केन्द्रीय सदस्य मनोनीत गरिनेछ । रास्वपा विधानमा योग्यता पुगेका केन्द्रीय सदस्यहरूमध्ये समावेशी सिद्धान्त र सक्षमतालाई ध्यानमा राखेर मनोनीत गर्ने पदाधिकारीको नाम प्रस्ताव गर्ने र केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने भनिएको छ । पदाधिकारी मनोनयन प्रस्ताव गर्दा समावेशिताको सिद्धान्तलाई अनिवार्य पालना गर्नुपर्ने र कम्तीमा चार महिला अनिवार्य हुनैपर्ने भनेको छ । त्यस्तै, कम्तीमा दुई सीमान्तकृत समुदाय (आदिवासी जनजाति, मधेशी, दलित, थारू वा मुस्लिम/अल्पसंख्यक क्लस्टर)बाट अनिवार्य भनिएको छ ।

पदाधिकारीमा एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनीत गरिनेछन् । महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक  महामन्त्री र तीन सहमहामन्त्री निर्वाचित भइसकेका छन् ।

महामन्त्री आचार्यले पदाधिकारी चयनमा पनि समावेशितालाई प्राथमिकता दिँदै कम्तीमा एकतिहाइ महिला सहभागिता सुनिश्चित गर्ने गृहकार्य भइरहेको छ । महाधिवेशनबाट निर्वाचित आठ पदाधिकारीमध्ये उपसभापति सोविता गौतम र सहमहामन्त्री निशा डाँगी निर्वाचित भइसकेका छन् । अब सभापतिले मनोनयन गर्ने पदाधिकारीमध्ये कम्तीमा चारजना महिलालाई समेटिने तयारी रहेको महामन्त्री आचार्यले बताए ।

‘पार्टी विधानले नै समावेशी सिद्धान्तलाई अनिवार्य पालना गर्ने भनेको छ । सभापतिजीले त्यो स्पिरिटलाई कायम राख्ने गरी सबै क्लस्टरलाई समेटेर मनोनीत गर्नुहुन्छ,’ महामन्त्री आचार्यले भने, ‘रास्वपा सबै क्लस्टर समेट्ने पार्टी हुन्छ । नेपाली राजनीतिक दलको इतिहासमा समानुपातिक समावेशिताको स्पिरिटलाई कायम राख्ने गरी अगाडि बढ्छौँ ।’

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक दीपेश घिमिरे कुनै पनि दलको केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएको सम्भवतः इतिहासमा पहिलो परिघटना भएको बताउँछन् । उनका अनुसार यो उपस्थितिले अन्य दललाई पनि परिवर्तनको सन्देश दिएको छ ।

‘००७ सालको क्रान्ति होस् वा बहुदल प्राप्तिपछि पनि महिलाको निकै कम सहभागिता रह्यो । संविधान निर्माणपछि पछिल्लो समय हेर्दा ३३ प्रतिशत बाध्यकारीबाहेक त्यो तहको उपस्थिति देखिँदैन । निर्वाचित नै भएर आधा महिला आउनु ठुलो कुरा हो । यसले राजनीतिमा महिला हस्तक्षेप सम्भव छ भन्ने देखाउँछ,’ उनी भन्छन्, ‘यहाँ महिलालाई आफ्नो दलभित्र सहज वातावरण नबनाई अगाडि जान सकिँदैन भन्ने सन्देश छ । जसरी माओवादी आन्दोलनमा महिलाहरू बन्दुक बोकेर गए । त्यसले राज्य संरचनामा परिवर्तन ल्यायो । पुरुष मात्रै भर्ना हुने नेपाली सेना रिफर्म गर्न बाध्य भयो । महिलाहरू भर्ना पनि हुन थाले । त्यसैगरी अहिले रास्वपाको यो उपस्थितिले अरू दललाई पनि महिलामैत्री बन्न, महिलामैत्री नीति लिन र निर्वाचित हुने वातावरण बनाउने हिसाबले योगदान र संकेत गर्छ ।’

घिमिरे राजनीतिमा प्रतिस्पर्धा गरेर बलियो उपस्थितिले महिलाहरूले सामाजिक–आर्थिक क्षेत्रमा हस्तक्षेप बढाउँदै गएको देखिएको बताउँछन् । ‘रास्वपाको केन्द्रीय समितिमा भएको प्रतिनिधित्व समग्र समाजको प्रतिनिधित्व हो । ५१ प्रतिशत जनसंख्या भएको महिलाहरू शिक्षामा, सामाजिक र आर्थिक क्षेत्रमा सक्षम भएको, समग्र क्षेत्रमा हस्तक्षेप बढाउँदै गएजस्तो लाग्छ,’ उनले भने ।

अधिकारकर्मी इन्द्र अधिकारीले सत्तासीन पार्टीको मुख्य संरचनामा प्रतिशतको हिसाबले महिला सहभागिता बढ्नु सकारात्मक भएको बताइन् । अब गुणात्मकताका पक्ष पनि हेर्नुपर्ने उनले बताइन् । ‘केन्द्रीय समितिमा महिलाको बहुमत हुनु भनेको राम्रो हो । यो लामो समयदेखि गरिरहेको आन्दोलनको परिणाम हो । प्रतिनिधित्व संख्याको हिसाबले सकारात्मक छ,’ उनले भनिन्, ‘तर, समावेशिताको हिसाबले हेर्दा पहिलादेखि चिनिएका चर्चित, पार्टीमा सहभागिता जनाइरहेका, पैसा–प्रसिद्धि कमाइसकेका, राज्य संरचनामा पहिचान बनाएकाहरू नै फेरि केन्द्रीय संरचनामा आएको हुनाले वर्गीय–जातीय हिसाबले तल्लो तह समेटिएनन् ।’

अधिकारीले संख्यात्मक रूपले भएपनि महिलाहरू आउँदा अरू दललाई पनि प्रतिनिधित्व गराउन–बनाउन बाध्य बनाउने बताइन् । ‘सहभागिताले सकारात्मक सन्देश दिएको छ । अरू पार्टीमा पनि यो सन्देश प्रवाह हुँदै जान्छ,’ उनले भनिन् ।

महाधिवेशनबाट निर्वाचित महिला केन्द्रीय सदस्यहरू
महधिवेशनबाट निर्वाचित हुनेमा सोविता गौतम, डा. तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, समीक्षा बाँस्कोटा, गीता चौधरी, लिमा अधिकारी आचार्य, प्रकृति ढकाल, टीका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशीला कार्की पोख्रेल, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुसुम महर्जन, करिश्मा कठरिया, जुली यादव, कामिनीकुमारी चौधरी, सविना विक, खिमा विक, समिना मियाँ र निशा मेहता छन् ।

त्यसैगरी शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ, सुष्मा बस्नेत, सुनिताकुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा, पवित्रा थापा, पूजा बाँस्तोला, विष्णुकुमारी गुरुङ (एकता), कल्पना पाण्डे, संगीता ढकाल, ज्ञानु पौड्याल, शर्मिला खनाल, सीता बादी, विनिता कठायत, टासी ल्हाङजोम, मेनुका शाही, जानिका जोशी र चन्द्रा ऐर चाँदनी निर्वाचित भएका छन् ।

निर्वाचित केन्द्रीय समितिमा हेरफेर 
रास्वपाले निर्वाचित ९९ केन्द्रीय सदस्यको सूची सच्याएको छ । बढी मत ल्याए पनि क्लस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो उम्मेदवारबाट आएपछि पार्टीको निर्वाचन आयोगले मंगलबार दुईजनालाई हटाएर अरू दुईजनालाई केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।

आयोग प्रमुख भुवन केसीका अनुसार ९९ केन्द्रीय सदस्यका ३२ खुला, ३२ समावेशी र ३५ भूगोलबाट निर्वाचित हुनुपर्छ । समावेशी सन्तुलन मिलाउँदा छुटेका उम्मेदवारलाई समावेशी गरी सूची सच्याइएको हो ।

सूची सच्याउँदा बागग्लुङ २ बाट निर्वाचित सांसद सोम शर्मा नै छुटेका छन् । उनको ठाउँमा बढी मत ल्याउँदा पनि निर्वाचित नगरिएको भन्दै असन्तुष्टि जनाई सर्वोच्च अदालत जाने तयारीमा रहेकी पूजा बाँस्तोलालाई निर्वाचित गरिएको छ । शर्मा र बाँस्तोला गण्डकी प्रदेश भूगोलबाट थिए । सुरुमा गण्डकी भूगोलको पाँच निर्वाचित सदस्यमा चौथो नम्बरमा शर्मा र पाँचौँ नम्बरमा विष्णुकुमारी गुरुङ (एकता) थिए । शर्माको ९७४ र गुरुङको ७८७ मत थियो ।

अहिले सूची सच्याएर सांसद शर्मालाई हटाइएको छ भने उनको ठाउँमा ८९३ मत पाएकी पूजा बाँस्तोलालाई निर्वाचित गरिएको छ । महिला सहभागिता बढाउन गुरुङलाई यथावत् राखी सांसद शर्मालाई हटाएर उनको ठाउँमा बाँस्तोलालाई निर्वाचित गरिएको आयोगले जनाएको छ ।

यसैगरी आदिवासी पुरुषतर्फ पुछारमा परेका कृष्णमान श्रेष्ठ ७८५ लाई हटाएर उनीभन्दा बढी मत ल्याएका ध्रुव थापामगर ७९० लाई निर्वाचित गरिएको छ । उनीहरूले खुलातर्फको समावेशी समूहमा प्रतिस्पर्धा गरेका थिए । सुरुमा ध्रुव थापा मात्रै लेखिँदा जनजाति प्रतिनिधित्व गराउन उनलाई निर्वाचित गरिएको थिएन । तर, कागजातमा थापामगर भेटिएपछि उनी जनजाति कोटाबाट बढी मत ल्याएका कारण निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबिच केन्द्रीय सदस्यबाट हटाइएका शर्मा र श्रेष्ठले असन्तुष्टि जनाएका छन् । श्रेष्ठले त सभापति रवि लामिछानेलाई भेटेरै आफूले बढी मत ल्याएकाले केन्द्रीय सदस्य हुनुपर्ने भन्दै मंगलबारै निवेदन नै दिएका छन् ।

रास्वपा महामन्त्री विपिन आचार्य भन्छन्– रास्वपा सबै क्लस्टर समेट्ने पार्टी हुन्छ
पार्टीको सर्वोच्च समितिमा निर्वाचनबाट भएको ५१% महिला प्रतिनिधित्व ऐतिहासिक छ । अब मनोनीत गर्दा पनि अधिकतम ल्याएर ५०% महिला पुर्‍याउने प्रयास रहन्छ । निर्वाचितमा महिला आए भन्दैमा मनोनीत सबै पुरुष हुँदैनन् । सिंगै समितिमा महिलाको जबर्जस्त उपस्थिति अहिलेकै जस्तो अनुपातमा देख्न पाइनेछ । नेतृत्वमा महिलाको सहभागिता बढोस्, अन्य समुदायको पनि उल्लेख्य उपस्थिति होस् भन्ने पार्टीको स्पिरिट हो । सभापतिजीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म मनोनीत गर्दा पनि त्यसलाई सम्बोधन हुने गरी गर्नुहुन्छ ।

अधिकारकर्मी इन्द्र अधिकारी भन्छिन्–
सत्तासीन पार्टीको मुख्य संरचनामा प्रतिशतको हिसाबले महिला सहभागिता बढ्नु सकारात्मक हो । यो लामो समयदेखि गरिरहेको आन्दोलनको परिणाम हो । प्रतिनिधित्व संख्याको हिसाबले सकारात्मक छ । तर, समावेशिताको हिसाबले हेर्दा पहिलादेखि चिनिएका चर्चित, पार्टीमा सहभागिता जनाइरहेका, पैसा–प्रसिद्धि कमाइसकेका, राज्य संरचनामा पहिचान बनाएकाहरू नै फेरि केन्द्रीय संरचनामा आएको हुनाले वर्गीय–जातीय हिसाबले तल्लो तह समेटिएनन् । यद्यपि, संख्यात्मक रूपले भए पनि महिलाहरू आउँदा अरू दललाई पनि प्रतिनिधित्व गराउन–बनाउन बाध्य बनाउँछ । यो सन्देश प्रवाह हुँदै जान्छ ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक दीपेश घिमिरे भन्छन्– 
००७ सालको क्रान्ति होस् वा बहुदल प्राप्तिपछि पनि दलहरूको नेतृत्वमा महिलाको निकै कम सहभागिता रह्यो । संविधान निर्माणपछि ३३% बाध्यकारीबाहेक यो तहको उपस्थिति देखिँदैन । निर्वाचित नै भएर आधा महिला आउनु ठुलो कुरा हो । यसले राजनीतिमा महिला हस्तक्षेप सम्भव छ भन्ने देखाउँछ । यहाँ महिलालाई आफ्नो दलभित्र सहज वातावरण नबनाई अगाडि जान सकिँदैन भन्ने सन्देश पनि छ । जसरी माओवादी आन्दोलनमा महिला बन्दुक बोकेर गए । त्यसले राज्य संरचनामा परिवर्तन ल्यायो । पुरुष मात्रै भर्ना हुने नेपाली सेना रिफर्म गर्न बाध्य भयो । महिलाहरू भर्ना पनि हुन थाले । अहिले रास्वपाको यो उपस्थितिले अरू दललाई पनि महिलामैत्री बन्न र नीति लिन तथा निर्वाचित हुने वातावरण बनाउने हिसाबले योगदान र संकेत गर्छ । रास्वपामा भएको प्रतिनिधित्व समग्र समाजको प्रतिनिधित्व हो ।

निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ : ५१ सदस्य र १२ पदाधिकारी मनोनीत कहिले ?
महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका ६ पदाधिकारी र ९९ सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति लामिछानेले उनीहरूलाई शपथ गराउँदै प्रमाणपत्र र घन्टी चिह्नसहितको मायाको चिनो उपहार दिए । अझै १२ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छ । यी पदमा सभापतिले मनोनीत गर्ने विधानको व्यवस्था छ । महामन्त्री विपिन आचार्यले मनोनीत गर्न धेरै ढिलाइ नहुने बताए । ‘सभापतिले सरसल्लाह गरिरहनुभएको छ । परिपक्व, खारिएको र समाज बुझेको मान्छे ल्याउने गरी हेरिरहनुभएको छ । उहाँले जहिले उचित ठान्नुहुन्छ, त्यतिवेलै मनोनीत गर्नुहुन्छ । तर, धेरै लम्ब्याउनुपर्ने कारण छैन, टाढा पनि जाँदैन,’ उनले भने ।

तीन आयोगमा नेतृत्व चयन 
महाधिवेशनपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगमा नेतृत्व चयन गरेको छ । सहमहामन्त्री हरि ढकालका अनुसार निर्वाचन आयोगमा भुवन केसी र लेखा आयोगमा अभिषेक घिमिरे चयन भएका छन् । त्यस्तै, अनुशासन आयोगमा पूर्वन्यायाधीश लेखनाथ पौडेललाई चयन गरिएको छ । 

See More On

सुझावित समाचार