साइकलमा आँप बेच्दै गरेका एक भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्।
भारत बिहार राज्यको बेतिया थानाको गोपालपुर ग्राम पञ्चायतको वडा नम्बर २, घोघा स्थायी घर भई वीरगन्ज महानगरपालिका– ८ मा डेरामा बस्दै आएका ३० वर्षीय गुड्डु आलम पक्राउ परेका हुन्।
सडकपेटीमा भारतीय नागरिकले साइकलमा आँप बेच्दै ब्राउनसुगर पनि बेचिरहेको सूचनाको आधारमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। साइकलको पछाडिको चक्कानजिक झुन्ड्याइएको प्लास्टिकको बोराभित्र सेतो प्लास्टिकमा लुकाइछिपाई राखिएको अवस्थामा २७ ग्राम २९० मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ।
बरामद ब्राउनसुगरसहित आलमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।