कामना सेवालाई बिपिए गोल्ड अवार्ड

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले लगातार तेस्रोपटक बिपिए अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा हरेक वर्ष प्रदान गरिने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फको विधामा बैंक गोल्ड अवार्डबाट सम्मानित भएको हो । यसअघि बैंक २०२३ र २०२४ मा पनि सोही अवार्डबाट सम्मानित भएको थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानका अध्यक्ष नीलबहादुर सारूले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन् । 

बैंकको वित्तीय विवरण लगातार रूपमा दक्षिण एसियामै विशिष्ट मानिने साफा अवार्डबाट समेत लगातार सम्मानित हुँदै आएको बताइएको छ । यससँगै वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि गरेको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त अवार्ड वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतीकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्यांकनका आधारमा प्रदान गरिएको हो । 

यो अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्ने बताइएको छ । यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ । 

सुझावित समाचार