अमेरिकाको मेरिल्यान्डमा आयोजित नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ। महोत्सवको समापन समारोहमा निर्णायकमण्डलले फिचर, वृत्तचित्र, लघु फिल्मलगायत विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्रलाई पुरस्कार प्रदान गरेको छ।
यस वर्षको उत्कृष्ट फिचर चलचित्रको अवार्ड त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ (छोराजस्तो)ले जित्यो। यही विधामा जौन योन्जन निर्देशित ‘क्रलिङ क्रोज’लाई स्पेसल मेन्सन प्रदान गरिएको छ। उत्कृष्ट नेपाली पानोरामा विधामा नानी साह्रा वाकर निर्देशित ‘शक्ति’ उत्कृष्ट घोषित भयो भने कालानी ग्याकन निर्देशित ‘फ्यामिली म्यान’ले स्पेसल मेन्सन प्राप्त गर्यो।
उत्कृष्ट वृत्तचित्रको पुरस्कार अमिताभ जोशी निर्देशित ‘हेभ यू सिन माई गड?’ ले हात पारेको छ। यो चलचित्रले बेस्ट डिएमभी क्लोजअप पुरस्कारसमेत प्राप्त गरेको छ। राजन कठेत निर्देशित ‘द रोड टू टिल’लाई यस विधामा स्पेसल मेन्सन गरिएको छ।
उत्कृष्ट लघु फिल्मतर्फ शुभम् नेगी निर्देशित ‘हिल्स डोन्ट डान्स अलोन’ र अमिर होसेन केस्मिरी निर्देशित ‘वन टु थ्री’ संयुक्त रूपमा विजेता घोषित भए।
यस वर्षको जुरी अवार्ड डेमिङ चेन निर्देशित ‘अलवेज’ले प्राप्त गर्यो। साथै, ब्रिटनी रामजट्टन र एन्ड्रेस रामजट्टन निर्देशित ‘पर्फेक्ट्ली सिजनड’, अलिन काटेल निर्देशित ‘सोलेमन प्रमिस’ तथा पुरन्ध्या शर्मा निर्देशित ‘ह्याभ अ गुड वन’लाई स्पेशल मेन्सन गरिएको छ।
नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित चारदिने महोत्सव मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा सम्पन्न महोत्सवमा नेपालसहित ११ देशका ३८ वटा फिचर, वृत्तचित्र तथा लघु चलचित्र प्रदर्शन गरिएका थिए।
महोत्सवको दौरानमा प्रदीप परियारको पुस्तक ‘सियोधागो’को पनि विमोचन गरिएको थियो। पुस्तकमाथि विशेष प्यानल छलफलसमेत आयोजना गरियो।