सीमा क्षेत्रका जनताको गुनासो सुन्दै सशस्त्र

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

सीमावर्ती क्षेत्रमा रहेका नेपाली समुदाय र उनीहरूको गुनासो सुन्न सशस्त्र प्रहरी गाउँगाउँ जान थालेको छ। नयाँ सरकार आएसँगै सीमा क्षेत्रबाट हुने राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा कठोर बनेको सशस्त्र प्रहरीबारे सीमा क्षेत्रका समुदायको धारणा बुझ्न तथा उनीहरूसँग गर्न सकिने सहकार्यबारे छलफल थालेको छ ।

सोमबार सशस्त्र प्रहरीको नम्बर ५ विन्दवासिनी बाहिनी मुख्यालय, रुपन्देहीले कपिलवस्तुको मायादेवी– ४, चाकरचौडा सीमा क्षेत्रका स्थानीयवासी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गरेको छ । सो क्रममा बाहिनीपति सशस्त्र नायब महानिरीक्षक दीपक अधिकारीले सीमा क्षेत्रमा हुने अपराध, सीमा अतिक्रमण तथा अवैध ओसारपसार नियन्त्रणमा सीमावासीकै प्रमुख दायित्व रहने बताएका थिए । ‘सशस्त्रले सीमा क्षेत्रमा सुरक्षा दिनु अघिदेखि नै यहाँका सीमा क्षेत्रको सुरक्षा सीमावासी नेपालीले नै गर्दै आउनुभएको थियो, अब अपराध नियन्त्रण, लागुऔषध ओसारपसार र तस्करी नियन्त्रणमा पनि सहकार्य गरौँ,’ उनले सीमावासीसमक्ष आग्रह गर्दै भने । 

सोही क्रममा स्थानीयवासी महेन्द्र पाठकले सरकारले सीमानाकामा कडाइ गर्ने र छोटी भन्सार नाकाहरू बन्द गर्ने गलत नीति अवलम्बन गरेको गुनासो गरे । ‘तपाईंहरू पाँच सयभन्दा बढीको सामान ल्याउन दिनुहुन्न, यहाँको छोटी भन्सार नाका बन्द भइसक्यो, अब ६ सयको सामान भन्सार गराउन पाँच सय खर्च गरेर कृष्णनगर, मर्यादपुर जाने ?’ उनले प्रश्न गरे ।

भन्सार विभागले मासिक सात लाखभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको चाकरचौडा भन्सार नाका बन्द गरिदिएको छ । यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष असफाक मुसलमानले सीमा क्षेत्रमा लागुऔषध ओसारपसार तथा सेवनका घटनामा वृद्धि भएको भन्दै नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए । सशस्त्र डिआइजी अधिकारीलाई अधिकांश सीमावासीले खेतमा प्रयोग गर्ने मलखाद नेपालमा अभाव रहेको र भारतबाट ल्याउँदा सशस्त्रले ल्याउन नदिनेलगायतको गुनासोहरू गरेका छन् । 

सशस्त्र प्रहरी बल २८ नम्बर गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जिल्लाका सबै सीमा क्षेत्रका गाउँ तथा बस्तीहरूमा सशस्त्रले अन्तरक्रिया, छलफल अभियानलाई निरन्तरता दिने बताए । ‘हामीले बर्डर इन्टरयाक्सन टिम (बिआइटी)को अवधारणाअनुसार अभियान सुरु गरेका छौँ,’ उनले भने । यस्ता कार्यक्रमबाट सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न मद्दत गनुका साथै सूचना र महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुने अपेक्षा गरिएको उनले बताए । कार्यक्रममा सीमा सुरक्षा गुल्म चाकरचौडाका डिएसपी दीपेन्द्र विष्ट तथा सो क्षेत्रका ६० जनाभन्दा बढी स्थानीयवासीको सहभागिता रहेको थियो ।

सुझावित समाचार