महोत्तरीको महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकाको सीमा रहेको हुलाकी राजमार्गस्थित कुटमेश्वरी पुल निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। वर्षायाम सुरु भएसँगै नयाँ बन्दै गरेको पुलकै छेउमा रहेको पुरानो पुललाई डाइभर्सनमा समस्या आउन थालेपछि माटो भरेर नियमित गरिए पनि सोही पुलमा समेत हिलो भई सवारीसाधनहरू फस्न थालेपछि यात्रीलाई सास्ती भएको हो ।
यता हुलाकी सडक निर्देशनालयका साइट इन्जिनियर विकास झाले पुल भएकै स्थानमा दुई एक्स्काभेटर, एक जेसिभी र दुई टिपर स्ट्यान्डवाई राखेको बताएका छन् । उनले वर्षाले नयाँ भरौट माटोमा हिलो भएकोले सोही स्थानमा राविश भर्ने काम भइरहेको बताए ।
०७९ साल फागुन २ गते २० करोड ६० लाख ८२ हजार पाँच सय दुई रुपैयाँमा निर्माण जिम्मा पाएको राम जानकी निर्माण सेवा प्रालिले ०८१ फागुन १ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा सोही समयमा पुलको काम सम्पन्न नभएपछि थप दुईपटक निर्माणको म्याद बढाइसकेको छ। हाल बढेको म्यादसमेत ०८३ साल साउन १८ गते समापन हुनै लाग्दा पुल निर्माणको काम ६२ प्रतिशत मात्र सम्पन्न हुन सकेको छ ।
यात्रीहरूले ठेकेदारले समयमै काम सम्पन्न नगर्दा सास्ती भोग्नुपरेको भन्दै सम्बन्धित निर्माण कम्पनीलाई थप समय उपलब्ध नगराई हाल उपलब्ध समयभित्रै कार्य सम्पन्न गर्न सम्बन्धित निकायले दबाब दिनुपर्ने बताएका छन् । स्मरण रहोस्, उक्त पुल निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै पटकपटक ध्यानाकर्षण गराइए पनि निर्माण कम्पनीले कामको रफ्तार भने नबढाएको गुनासो छ ।