फ्रान्सको अगाडि कठिन प्रतिद्वन्द्वी स्विडेन

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

दुईपटकको च्याम्पियन फ्रान्सको उपाधि यात्राको अभियानको पहिलो नकआउट प्रतिस्पर्धी नै युरोपेली बलियो राष्ट्र स्विडेन परेको छ । दुई टिमबिचको अन्तिम ३२ को भिडन्त न्युयोर्क सिटी जर्सी मैदानमा हुनेछ । समूह ‘आई’मा तीनै खेल जित्ने एक्लो टिम बनेको फ्रान्स नकआउटमा समेत बलियो प्रतिस्पर्धा दिन चाहन्छ । केलिएन एम्बाप्पेको कप्तानीमा फ्रान्स तेस्रोपटक उपाधि जित्ने योजनामा छ । सन् २०१८ मा दोस्रोपटक उपाधि जिते पनि टिम सन् २०२२ मा भने फाइनलमा अर्जेन्टिनासँग चुकेको थियो ।

समूह चरणमा फ्रान्सले सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ३–१ ले हराएको थियो । टोली यस्तै नतिजालाई निरन्तरता दिने योजनामा छ । प्रशिक्षक डिडियर डेस्च्याम्प एम्बाप्पे र औसमाने डेम्बेलेलाई नै ३५ स्थानमुनि रहेको स्विडेनविरुद्ध आफ्नो प्रमुख हतियार बनाउनेछन् । दुवैले प्रतियोगितामा समान चार गोल गरिसकेका छन् । डेम्बेलेले पछिल्लो खेलमा नर्वेविरुद्ध ह्याट्रिक नै गरेका थिए । पछिल्लो खेलमा गोलविहीन भएका एम्बाप्पे विश्वकपको गोलसंख्या १६ बाट बढाउने योजनामा पनि हुनेछन् ।

यता, स्विडेन पनि आफूभन्दा फिफा वरीयतामा ३५ स्थानमाथि रहेको फ्रान्सविरुद्ध सजक छ । स्विडेनका प्रशिक्षक ग्राहम पोटर फ्रान्सको अट्याकिङ फुटबलसँग राम्ररी जानकार छन् । उनी फ्रान्सका हरेक खेलाडीको क्षमता राम्रोसँग जानकार राख्छन् । त्यसैले रक्षात्मक खेल खेल्दै अप्रत्याशित नतिजा निकाल्ने दाउमा छन् । 

यद्यपि, स्विडेनका लागि समूह ‘एफ’को यात्रा त्यति सहज रहेन । नेदरल्यान्ड समूह विजेता बन्दा जापान उपविजेता भयो । स्विडेन भने तेस्रो भएर अगाडि बढेको थियो । स्विडेनले पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराउँदा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग सोही अन्तरमा पराजित भयो । तर, अन्तिम खेलमा जापानसँग अंक लिएपछि नकआउट पक्का गरेको थियो । प्रशिक्षक पोटरले लिभरपुलबाट खेलिरहेका एलेक्जेन्डर इसाक, ब्राइटनका यासिन आयरी, आर्सनलका भिक्टोर ग्योकेरस, न्युक्यासलका एन्थोनी इलांगालाई मुख्य खेलाडीका रूपमा राखेका छन् । 

युरोपेली छनोट प्रतियोगिताको आफ्नो समूहमा एउटै खेल जित्न नसकेको स्विडेन पुछारमा थियो । तर, नेसन्स लिग २०२४–२०२५ को प्रदर्शनका आधारमा स्विडेनले प्लेअफमा स्थान बनायो । प्लेअफमा युक्रेन र पोल्यान्डलाई हराउँदै स्विडेन विश्वकपको टिकट काट्न सफल भयो । पछिल्ला वर्षहरूमा चेल्सी र वेस्ट ह्यामबाट बर्खास्तगीमा परेपछि करिअर जोगाउने नयाँ प्रशिक्षक ग्राहमको संघर्षलाई पनि सुखद गन्तव्य दियो । 

इसाक र भिक्टरजस्ता युरोपकै शीर्ष स्ट्राइकरको साथ पाउँदा पनि छनोट चरणमा स्विडेनले समस्या भोगेको थियो । लुकास बर्गभाल र एन्थोनी स्विडेनको समस्या समाधान गर्न सक्षम रहे । सन् १९५८ को उपविजेता स्विडेनका लागि अमेरिकी मुभीसँग मिठा स्मरण छन् । सन् १९९४ मा पछिल्लोपटक अमेरिकाले प्रतियोगिता आयोजना गर्दा स्विडेन सेमिफाइनलमा पुगेको थियो । टोली यसपालि पनि त्यस्तै नतिजाको अपेक्षामा हुनेछ । 

स्विडेनले फ्रान्सलाई हराउँदै आफ्नो यात्रा अगाडि बढाउने योजनामा छ । यसका लागि स्विडेन तयार छ । फ्रान्स भने समूह चरणको अन्तिम खेलमा प्रमुख स्ट्राइकर एम्बाप्पेलाई बेन्च राखेको थियो । नकआउट चरणजस्तो महŒवपूर्ण खेलमा कप्तान एम्बाप्पे उपस्थित हुनेछन् । यसले फ्रान्सको मनोबल उच्च हुनेछ ।

See More On

सुझावित समाचार