गाडीमा कालो सिसा निषेध पहिल्यै थियो नियम, बल्ल थालियो कार्यान्वयन

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण
गाडीमा कालो सिसा निषेध पहिल्यै थियो नियम, बल्ल थालियो कार्यान्वयन

तस्बिर : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

यातायात कार्यालयले अनुमति नदिई गाडीमा कालो सिसा राख्नु कानुनतः दण्डनीय हो । तर, राज्यको उच्च पदमा रहेकादेखि धनाढ्यसम्म सामाजिक रवाफका लागि गाडीको सिसा कालो बनाएर (अधिकांशमा कालो स्टिकर टाँस्ने) हिँड्ने गरेका छन् । कतिपयले अवैध गतिविधिका लागि पनि गाडीको सिसा कालो बनाउने गरेका छन् । अब भने सरकारले गाडीमा कालो सिसा निषेध कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

गृहमन्त्री सुधन गुरुङ स्वयं चढिरहेको गाडीको सिसा स्टिकर टाँसेर कालो बनाइएको थियो । सोमबार उनकै गाडीको सिसाबाट स्टिकर हटाएर ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ । यसका लागि ट्राफिक प्रहरी गृह मन्त्रालयमै पुगेको थियो ।

गृहमन्त्रीको मात्रै होइन, गृहसचिव राजकुमार श्रेष्ठ चढ्ने गाडीको सिसामा पनि कालो स्टिकर थियो । ट्राफिक प्रहरीले उनको गाडीबाट पनि स्टिकर उतारेर सिसा पारदर्शी बनाइदियो । अब अन्य उच्च अधिकारीको गाडीमा लगाइएको कालो सिसा हटाउने तयारी रहेको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेश सुवेदीले बताए । ‘कानुनतः अनुमति विनासवारीसाधनमा कालो सिसा लगाउन मिल्दैन । धेरैका गाडीमा कानुनविपरीत कालो सिसा राखिएकाले हामीले हटाउने अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘आज गृहमन्त्री र गृहसचिवको कारमा लगाइएको सिसाको कालो स्टिकर निकालियो । अब अन्य अधिकारीको गाडीबाट पनि हटाइनेछ । अभियान कडाइका साथ अगाडि बढ्नेछ ।’

सवारीसाधनमा कालो सिसा/स्टिकर प्रयोग गर्नु स्वरूप परिवर्तनअन्तर्गत पर्छ । सवारीसाधनको स्वरूप परिवर्तन गर्न नपाइने नियम सवारी तथा यातायात व्यवस्था ऐन, ०४९ को दफा ३९ मा छ । उक्त दफामा उल्लेख छ, ‘अधिकारप्राप्त अधिकारीको स्वीकृति नलिई सवारीसाधनको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न हुँदैन ।’ यो कानुन उल्लंघन गर्ने कसुरदारलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि छ । 

सुझावित समाचार