अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले बर्लिनस्थित नेपाली राजदूतावासमा ‘बर्लिनमा नेपाली साहित्य’ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका साहित्यकार, सर्जक, वैज्ञानिक, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली भाषा–साहित्यप्रेमीलगायतको उल्लेख्य सहभागिता थियो।
अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सीमा ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाको विधान छलफलपछि अनुमोदन गर्दै सात सदस्यले हस्ताक्षर गरेका थिए। साथै, नेपाली साहित्यका कृति तथा सिर्जनालाई डिजिटल माध्यमबाट विश्वभरका पाठकमाझ पुर्याउने उद्देश्यसहित ‘अनेसास अनलाइन लाइब्रेरी’को डिजिटल उद्घाटन तथा औपचारिक घोषणा गरिएको थियो।
वरिष्ठ जलवायु तथा वायुमण्डलीय वैज्ञानिक एवं आइपिसिसी कार्य समूह–१ का उपाध्यक्ष डा. महेश्वर रूपाखेती, एनआरएनए जर्मनीका उपाध्यक्ष राजेश सुनार, इनास जर्मनीका महासचिव नीरज नेपाली तथा एफसी नेपाल बर्लिन इभीका अध्यक्ष डा. सरोज चुडालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अनेसास जर्मनी च्याप्टरका पदाधिकारीहरूले संस्थाको विगत, वर्तमान र भावी कार्यदिशाबारे संयुक्त प्रस्तुति दिएका थिए। प्रस्तुतीकरणमा डिजिटल साहित्यिक गतिविधि विस्तार, जर्मनीका विभिन्न सहरमा कार्यक्रम सञ्चालन, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने तथा नेपाली–जर्मन द्विभाषिक साहित्यिक कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको थियो।
सुवासचन्द्र सापकोटाको संयोजनमा नेपाली भाषा, साहित्य, इतिहास र संस्कृतिसम्बन्धी पुरस्कारसहितको हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा अनेसास जर्मनी च्याप्टरका सदस्य निरज सोडारी विजेता बने। रचनावाचन सत्रमा सहभागी सर्जकहरूले कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागर फुँयाललाई कदरपत्रसहित सम्मान गरिएको थियो। फुँयालले कूटनीतिक तथा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान–पत्र प्रदान गरेको अनेसास जर्मनीले जनाएको छ।